सबैलाई पठाउनु होला

रसुवा    राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी मैलुङ सडकको १३ किलोमिटर क्षेत्रमा लामो समयदेखि कालोपत्रे गर्ने काम रोकिएको छ। अदालतको स्टे अडर र मुआब्जा विवादका कारण काम अघि बढ्न नसकेको हो।

रसुवागढी नाका जोड्ने छोटो दूरीको रूपमा रहेको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिने छ। जसमा हालसम्म २६ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य सकिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। बाँकी क्षेत्रमा कालोपत्रेको काम हुँदै छ।

अदालतको स्टे अडर, मुआब्जा विवाद, कोभिड–१९ लगायतका समस्याका कारण कामले गति लिन नसकेको योजना प्रमुख निरज शाक्यले बताएका हुन । ‘अदालतको स्टे अडर र मुआब्जा विवादको काम समाधान भएमा कामले गति लिने छ’, उनले भने, यसका लागि हामीले पहल गरिरहेका छौं।’

काम रोकिएको १३ किलोमिटर सडकमध्ये ८ किलोमिटर क्षेत्रमा अदालतको स्टे अडर र ५ किलोमिटर क्षेत्रमा मुआब्जा विवाद रहेको छ। योजनाका अनुसार २६ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सकिएको र थप ४ किलोमिटर क्षेत्रमा पहिलो लेयरको कालोपत्रे गरिएको छ।

रसुवागढी नाका जोड्ने पहिलो खण्डको रूपमा रहेको गल्छी मैलुङ सडकखण्डको स्तरोन्नतिको काम करिब ७५ प्रतिशत सम्पन्न भएको योजनाले जनाएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको गल्छी रसुवागढी सडकखण्डलाई तीन भागमा विभाजन गरेर स्तरोन्नतिको काम हुने छ।

गल्छी–मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ।  दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकखण्डको काम अहिले रोकिएको छ। त्यसैगरी स्याफ्रु रसुवागढी सडकखण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले बिजुलीको पोल सार्ने कार्य अन्तिम चरणमा पुगेको छ।

यस खण्डमा पनि मुआब्जाको काम सकिएको छैन। नाका जोड्ने सडक खण्डमा निर्वाध रूपमा काम गर्नका लागि स्थानीय तह र स्थानीय प्रशासनको सहयोगको अपेक्षा रहेको योजना प्रमुख शाक्यले बताएका छन् । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै रहेको छ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com