सबैलाई पठाउनु होला

विराटनगर –    रुखबाट लडेर र दुर्घटनामा परेर मोरङमा मंगलबार साँझ २ जनाको मृत्यु भएको छ। अरु २ जना मृत फेला परेका छन्। प्रहरीका अनुसार मोरङमा विभिन्न घटनामा एकै दिन ४ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएका ३ जना विराटनगर र १ जना बेलबारीका रहेको प्रहरीले जनाएको छ। मृतक सबै पुरुष हुन्। प्रहरीका अनुसार रुखबाट लडेर र दुर्घटनामा परेर मृत्यु हुने दुवै जना वृद्ध पुरुष थिए । बेलबारी नगरपालिका–८ का ७४ वर्षीय चन्द्रमान गुरुङको मृत्यु रुखबाट लडेर भएको हो ।

भाउन्नेको जंगलमा बाख्रालाई घाँस काट्न गएका उनी हल्लुडेको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार गुरुङको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा साँझ ६:२० बजेतिर मृत्यु भएको हो। घाँस काट्न चढेको रुखको हाँगा भाँच्चिएर घटना भएको प्रहरीले जानकारी दिएको  छ।

यसैबीच, विराटनगर महानगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट ८५ वर्षीय वृद्धको मृत्यु भएको छ। डीएसपी श्रेष्ठका अनुसार को ३९ प ७८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट विराटनगर–१२ का मुसा यादवको मंगलबार साँझ ६:३० बजेतिर मृत्यु भएको हो।

अघिल्लो दिन दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको  छ। प्रहरीका अनुसार दुर्घटनालगत्तै फरार रहेका मोटरसाइकल चालकको खोजी जारी राखिएको छ।
त्यस्तै, विराटनगर–४ स्थित मोटर ग्यारेजमा काम गर्दै आएका ३५ वर्षीय सुमित दाहाल साँझ मृत फेला परेका छन्।

धीरज ठकुरीको ग्यारेजमा काम गर्दै आएका दाहालको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। प्रहरीले अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। डीएसपी श्रेष्ठे घटनाका बारेमा अनुसन्धान थालिएको र हालसम्म मृत्युको कारण पत्ता लाग्न नसकेको जानकारी दिएका छन ।

विराटनगर–१२ आइतबारे नहर चोकनजिक साँझ एक जना पुरुष मृत फेला परेका छन्। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको हो । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ। मृतकको पहिचानका लागि आफन्त र परिवारका सदस्यको खोजी सुरु गरेर घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com