काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा पहिलो दल बनेसँगै नेपाली कांग्रेसमा दम्भ र अहंकार चुलिएको बाताएका छन्।
बुधबार कमलपोखरीस्थित पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विगतमा अहंकारकै कारण एमालेलाई ठेगान लगाएको भन्दै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् भनेर सचेत गराएका हुन ।
‘देशभरबाट कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएको रिपोर्ट आइरहेको छ,’ उनले भने, ‘वाम गठबन्धन र एकता गरेको एमालेलाई अहंकारकै कारण ठेगान लगायौं। अहिले एमाले चैनमा छैन। एमालेजस्तै कांग्रेसलाई ठेगान लगाउने अवस्था नआओस् म कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु।’
निर्वाचनमा गठबन्धनमा भरपर्दा माओवादीलाई सोचेजस्तो नतिजा नआएको उनको भनाइ रहेको थियो। आफूहरुले संविधान, लोकतन्त्र र राष्ट्रिय रक्षाका लागि गठबन्धन कायमै राखेर अघि जान खोजेको भन्दै प्रचण्डले कांग्रेसबाट अहंकार र दम्भ आयो भने त्यसविरुद्ध पनि प्रतिकार गर्ने चेतावनी दिएका हुन ।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आफू र नारायणकाजी श्रेष्ठले कांग्रेसमा अहंकार नआओस् भनेर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएको प्रचण्डले दाबी गरेको छ ।
‘हिजो गठबन्धन बैठकमा हामीले संविधान, लोकतन्त्र र राष्ट्रिया रक्षाका लागि गठबन्धन बनेको छ। यो उद्देश्य पूरा भएको छैन। अगाडि लैजानुपर्छ। कांग्रेसमा अहंकार नआऔओस्। माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् भनेर भनेका छौं,’ ‘कांग्रेसले पनि बुझिदिनुपर्यो’, उनले भने ।
विगतमा शक्तिमा आउँदा एमालेले देखाएको अहंकार देखाएजस्तै अहिले कांग्रेस पनि त्यस्तै होला कि डर रहेको उनले उल्लेख गरेका छन् । उनले भने, ‘गठबन्धन कायम रहन्छ। गठबन्धनमाथि अलि धेरै भरोसा गर्दा धेरै ठाउँमा हार्यौ। अब पहिला आफै बनौं। गठबन्धनलाई अझ प्रभावकारी पनि बनाउनुपर्छ’ ।
माओवादी कहिले कांग्रेस त कहिले एमालेसँग सहकार्य गर्नु बाध्यता र आवश्यकता भएको अध्यक्ष दाहालले बताएक छन् । ‘राष्ट्रिय आवश्यकता भनेर गठबन्धन बनाउँछौं तर बुर्जुवाहरुले व्यक्तिगत स्वार्थमा उपयोग गर्छन्,’ उनले भने, ‘यसअघि एमालेले त्यस्तै गर्यो। कांग्रेस त्यस्तै अहंकारी हुने हो कि चिन्ता बढेको छ।’
उनले चुनावपछि एमाले चैनमा बस्ने अवस्था नरहेको दाबी गरेका छन् । उनले भने, ‘माओवादी गुगलमा भेटिन्छ भन्थे, तर अहिले माओवादी उनीहरुकै अगाडि पूरा शक्तिका साथ अगाडि खडा छ’ ।
प्रचण्डले स्वतन्त्र उम्मेदवारले जित्दैमा सबै राज्य स्वन्त्रहरुकै हालीमुहाली हुननसक्ने भन्दै माओवादीले स्वतन्त्रको सफलताबाट शिक्षा लिएर जानु उचित हुनेमा जोड दिएका छन् ।

