काठमाडौं – कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले आफू माओवादी केन्द्रमै रहेको बताए ।
स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका हुन ।
केसी आज बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन । भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
केसीलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिएका छन् ।उनी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा विजयी भएकाहरुका लागि काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी पनि भएका थिए ।

