काठमाडौं – नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरे ।
बिहीबार अभियानको सुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटकलाई नेपालमा आकर्षित गर्न यो अभियान संचालन गरेको बताएका छन् ।
हाल भारत एवं बंगलादेशमा निकै गर्मी रहेको छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास उनको रहेको छ ।
उनले भने, ‘पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिवृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो’ ।
परिसंघ जस्तो जिम्मेवारी संस्थाले लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान संचालन गरेको उनले बताएका हुन । यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास अग्रवालको रहेको छ ।
भारत र बंगलादेश दु्रत रुपमा वृद्धि भइरहेको बजार हो । यिनीहरुको आर्थिक वृद्धि पनि उच्च छ । नेपालसँग हवाई संजाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि रहेको छ ।
तर, उनीहरुलाइ हाम्रो गन्तव्य, मौसमको बारेमा जानकारी गराउनु पनि पर्छ । सोही उद्देश्य अनुरुप परिसंघले यो अभियान संचालन गरेको हो । सन्२०१९ मा २ करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ । यस्तै सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । कोभिड पछि उनीहरु विस्तार बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको थियो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन्। भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ’ ।
परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताएका छन् । परिसंघले भारतमा अल इन्डीया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ ।
यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताएका हुन । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ ।
परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान संचालन गर्न लागिएको जानकारी गराएकि छन् । उनले यो अभियानले नेपालको पर्यटन प्रबद्र्धनमा निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
पत्रकार सम्मेलनमा परिसंघको पर्यटन समिति सदस्यहरु अशोक पोख्रेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, नाट्टा अध्यक्ष रमेश थापा, सुरेश बुडाललगायतले परिसंघले संचालन गरेको यो अभियानले भारत, बंगलादेश मात्रै नभई अन्य मुलुकका पर्यटक पनि आकर्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
पर्यटनसँग सम्बन्धित विभिन्न संघ, संस्था एवं व्यवसायीहरुलाई यो अभियानको अपनत्व लिँदै आ-आफ्नो सञ्जालबाट थप प्रबद्र्धन गर्न परिसंघले आग्रह गरेको छ।

