सबैलाई पठाउनु होला

सन्धिखर्क –    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० धरम्पानीका स्थानीय २० वर्षपछि लालपुर्जा पाउँदा हर्षित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा नेकपा माओवादीले सदरमुकाम आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो।

देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण सुरु गरेको हो। विशेष नापी कार्यालय अर्घाखाँचीले सन्धिखर्क–१० को धरम्पानीमा जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सुरु गरेको छ । लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण प्राप्त गर्न पनि नसकेका स्थानीय लालपुर्जा पाएपछि खुसी भएका छन्  ।

जग्गा भएर पनि प्रमाण नभएकाहरूले लालपुर्जा पाउनु खुसीको कुरा भएको बताउँदै लालपुर्जा घरमा बाकसमा नराखेर बैंक तथा वित्तीय संस्थामा राखेर स्वरोजगार बन्न सन्धिखर्क–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आग्रह गरेका छन् ।

कृषिमा केही काम गर्न र आफ्ना बालबालिकालाई पढाउन जग्गाधनी लालपुर्जा बैंकमा राखेर पनि पढाउन पाउने भएकाले सोको उपयोग गर्न सबैलाई उनले सुझाएका छन् । द्वन्द्वको समयमा नक्साविहीन भएको अर्घाखाँचीका विभिन्न वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको नापी अधिकृत डिल्लीराज भण्डारीले बताएका हुन  ।

उनले डिजिटल प्रविधिबाट निर्माण गरिएको लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने बताएका छन् । उनले धेरै वडामा नापी नक्साको काम सकिएको पनि बताएका छन् । काठमाडौंलगायत तराईका जिल्लाहरूमा अहिलेसम्म पनि २०२० सालकै नापनक्साबाट काम गरिरहेका छन्।

अहिले भएको नापनक्साबाट खर भए खर घर भए घर बाटो भए बाटो जस्तो रहेको छ। त्यस्तै अवस्थामा पुर्जा वितरण भएको छ। जग्गाधनी प्रमाण पुर्जा वितरण भएकाले उक्त पुर्जालाई प्रयोगमा ल्याउन र अधिकत्तम फाइदा लिन सबै स्थानीयलाई निवर्तमान वडाध्यक्ष लक्ष्मीनारायण चुदालीले बताए ।

पुर्जा वितरण कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती भाट क्षेत्री, वडा सदस्यहरू ईश्वरीप्रसाद मरासिनी, हरिलाल पराजुली, तारा सुनार, निवर्तमान वडा सदस्यहरू ऋषिकेस भुसाल, भेसराज क्षेत्री, चमकला भुसाल, शान्ता नेपाली, नेकपा एमालेका हरि मरासिनी, कांग्रेसका मानबहादुर क्षेत्री, माओवादी केन्द्रका विनोद थापा, राष्ट्रिय जनमोर्चाका रुद्रप्रसाद पराजुली, जनता समाजवादी पार्टीका पुस्करनाथ आचार्यलगायतको उपस्थिति  रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com