सबैलाई पठाउनु होला

विश्व वातावरण दिवस  –    २०२२ को नाराले भन्छ- हामीले पृथ्वीको निरन्तर, अचाक्ली दोहन गर्‍यौं। अति भयो, अब स्याहार गरौं। नत्र ८ अर्ब मानव, ८७ लाख प्रजातिका अर्बौं जीवजन्तु र अथाहा वनस्पतिको यो साझा घर हाम्रै लागि घातक बन्न सक्छ। चेतौं बेलैमा।

सुधारौं बानी–बेहोरा। लागौं वातावरण संरक्षणतर्फ।  हुन पनि वातावरणीय बेहालका केही तथ्यले मन कटक्क पार्छन्। पृथ्वीमा प्रतिदिन २७ हजार रूख काटिन्छन्। पृथ्वीको सतह करिब ७१ प्रतिशत पानी रहेको हो। तर, मानवीय प्रयोगमा यो मात्र १ प्रतिशत छ। समुद्रमा फालिने प्लास्टिकजन्य दूषित वस्तुका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी जलचर मारिन्छन्।

नेपालका सन्दर्भमा यो विषय झन् संवेदनशील बनेको  छ। हाम्रो देशको उष्णता (तात्ने क्रम) विश्वव्यापी औसतभन्दा माथि रहेको छ। नदीजन्य बाढीका कारण प्रभावित हुने जनसंख्या सन् २०३० सम्ममा दोब्बर हुने आकलन गरिएको छ। यसको आर्थिक असर भने तेब्बरै हुनेछ।

हाम्रो राजधानी काठमाडौं विश्वकै प्रदूषितमध्ये तेस्रो सहरमा पर्छ। ‘डोजरे विकास’को संक्रामक रोगले हाम्रा पहाड छिया–छिया पारेको छ। वन ध्वस्त बनाएको छ। यसको दीर्घकालीन प्रभाव झलझली छ। बाढीपहिरो, अतिवृष्टि, खण्डवृष्टिजस्ता विपत्ति ह्वात्तै बढेका छन्। तापमान वृद्धिले हिमाल ह्वांग देखिन थालेका छन्।

हिमनदी पग्लिएका छन्। हिमताल फुट्ने जोखिमको डिलमा छौं हामी। चुरे विनाशले मधेसमा पानीको स्रोत सुकेको छ। बाढीले वितन्डा मच्चाउने कारण पनि यही नै हो।

हाम्रा सहर फोहोरका डुंगुर बनेका छन्। अग्ला घरबाट फोहोरका पोका फुत्त सडकमा फाल्दा हामीलाई लाज–घिन छैन। अस्वस्थकर दूषित पानीका कारण अनेक संक्रामक रोग झेल्नु परिरहेको छ। प्लास्टिक प्रयोग घटेको छैन, बढेको छ। सहरी र घनाबस्तीमै इँटाभट्टा र प्रदूषणजन्य उद्योगधन्दा पर्याप्त छन्।  नदीको कलेजो झिकेजसरी ढुंगागिटी निकालिरहेका छौं। यस्ता हर्कतमा हामीलाई कुनै कानुनले रोक्दैन। कुनै नियमले छेक्दैन।

वातावरणीय मुद्दालाई विश्व समुदायले समात्ने एउटा ठाउँ भने छ, त्यो हो– दिगो विकास लक्ष्य। यसको १३ नम्बर बुँदाले ‘जलवायुमा पहल’ गर्न भन्छ। नेपालका हकमा अधिकांश बुँदा वातावरणमै गएर जोडिन्छन्। यसको पहिलो लक्ष्य ‘गरिबी निवारण’ छ।

वातावरणीय सवाल गरिबीको वरिपरि घुम्छ। जसले अन्य इन्धन जोहो गर्ने औकात राख्दैन, वन मास्छ। दाउरा बाल्छ। त्यसबाट धूवाँ निस्किन्छ। प्रदूषण बढ्छ। घातक रोग लाग्छ। उपचार गर्न सक्दैन। मृत्यु हुन्छ।

अर्कातिर, गुणस्तरीय र पहुँचमा शिक्षा नहुँदा जीवनस्तर उँभो लाग्न सकेको छैन। हामी इन्धनमा ठूलो मात्रामा डलर खर्च गरिरहेका छौं। नवीकरणीय ऊर्जा उत्पादनमा पहल गरेका छैनौं। यसले हाम्रो देशको वैदेशिक मुद्रा सञ्चिति निख्रिएर टाटउन्मुख मात्र बनाएको छैन, प्रदूषणलाई शिखरमा पुर्‍याएको छ। खोलामा पानी बगेर गएको छ, त्यही पानीसरह खाडीबाट तेल ल्याउनु परेको छ। पानीबाट बिजुली वा हाइड्रोजन ऊर्जा निकाल्ने हो भने वातावरणीय समस्या धेरै समाधान हुनुका साथै आर्थिक विकासले फड्को मार्ने देखिन्छ ।

यी र यस्तै समस्यालाई उठान गरेका छौं। आउनुहोस्, वातावरण जोगाउन हामी सबै हातेमालो गरौं। पृथ्वीको आँसु पुछौं। आफ्नो जीवन सुरक्षित बनाऔं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com