सबैलाई पठाउनु होला

सिङ्गापुर –   कोभिड–१९ महामारीपछि तीन वर्षको अन्तरालमा यहाँ भएको तीनदिने साङ्ग्रिला डाइलग युक्रेन युद्ध र चीन–अमेरिकाबीचको तनाबपूर्ण सम्बन्धकै सेरोफेरोमा केन्द्रित रहेर समापन भएको छ।

हरेक वर्ष आयोजना हुने एशियाको प्रमुख सुरक्षा बैठकमा चीन–अमेरिका सम्बन्ध नै छलफलको केन्द्रमा रहने गरेको थियो। महामारीपछिको यो बैठकमा भने युक्रेन युद्धले पनि अधिक स्थान पाएको थियो।

बैठकको अन्तिम दिन आज विशेष मन्तव्य व्यक्त गर्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले चीन–अमेरिका सम्बन्ध जटिल मोडमा पुगेको बताउँदै त्यसलाई सुधार गर्ने दायित्व अमेरिकामा निर्भर रहेको बताएका छन् ।

जनमुक्ति सेनाको पोशाक लगाएका उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र आफूहरूलाई गाली नगर्न अनुरोध गर्दै अमेरिकी पक्षले त्यसो गर्न नसके द्विपक्षीय सम्बन्धमा सुधार नहुने चेतावनी दिए  ।

कूटनीतिज्ञ, प्रतिरक्षा अधिकारी, हतियार निर्मातासहित ४० देशका पाँचसय ७५ प्रतिनिधिमाझ भएको बैठकमा श्रव्यदृश्यका माध्यमबाट आफ्नो धारणा व्यक्त गर्दै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशमाथि भएको रूसी आक्रमण विधिमा आधारित विश्व व्यवस्थालाई धम्की दिएको र त्यसले सम्पूर्ण विश्वलाई अनिकाल एवम् खाद्यान्न सङ्कटतर्फ धकेलेको बताएका थिए ।

बैठकमा युक्रेनले आफ्नो गुमेको भूमि फिर्ता लिन किएभलाई पश्चिमा मुलुकबाट आधुनिक हतियार सहयोग हुनुपर्नेमा जोड दिएको थियो। अन्नपात निर्यातको योजना पनि आफ्नो देशले बनाइरहेको युक्रेनी राष्ट्रपतिले बताएका थिए। अधिकांश प्रतिनिधिहरूले रूस र चीनबीचको सम्बन्धका बारेमा प्रश्न उठाएका थिए।

प्रत्युत्तरमा चिनियाँ रक्षामन्त्रीले आफ्नो देशले शान्तिवार्तालाई समर्थन गरेको र रूसलाई कुनै किसिमका हातहतियार वा सामग्री उपलब्ध नगराएको दाबी गर्दै हतियार दिने र प्रतिबन्ध लगाउँदैमा समस्याको समाधान नहुने तर्क गरेका छन्  ।

“रूस चीनको साझेदार हो तर सहयोगी होइन,” चीन सधै आफ्नो राष्ट्रिय हित प्रवद्र्धनको नीतिलाई अङ्गिकार गरी अघि  बढिरहेको स्पष्ट गर्दै उनले भने। बैठकमा रूसलाई भने आमन्त्रण गरिएको थिएन।

“ताइवानसँग हामीले शान्तिपूर्ण पुनर्मिलन खोजेका हौँ तर अन्य विकल्पमा हाम्रो सहमति छैन,” ताइवान मामिलालाई लिएर चिनियाँ रक्षामन्त्रीले बेइजिङको औपचारिक धारणा स्पष्ट पारेका छन् ।

ताइवानका प्रधानमन्त्री सुत्सेङ चाङले बिना राजनीनिक  पूर्वशर्त र समानताका आधारमा चीनसँग आफूहरू सद्भावनाको भावनमा संम्लग्न हुन इच्छुक रहेको बताएका छन् ।

यसैबीच, रूसले युक्रेनमा गरिएको कारबाहीलाई विशेष भन्दै आफ्नो उद्देश्य देशको भूगोल विस्तार गर्नु नभई उसको ‘सैन्य क्षमता नष्ट गर्नु’ हो भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com