बुटवलमा औषधिमा नक्कली म्याद र मूल्य प्रिन्ट गर्ने उद्योग फेला परेको छ । बुटवलमा एउटा गिरोहले म्याद सकिएका औषधिमा नयाँ मिति राखेर जनस्वास्थ्यमाथि नै खेलबाड गरेको पाइएको छ ।
औषधि व्यवसायी र बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बुटवल–७ दीपनगरमा त्यस्ता नक्कली प्रिन्ट गरिएको औषधि र पोषणयुक्त खाद्य सामग्रीको भण्डार तथा प्रिन्ट उद्योग फेला परेको हो ।उक्त उद्योगबाट औषधिमा नयाँ मूल्य राख्ने, म्याद सकिएका औषधिलाई रिप्रिन्ट गर्ने तथा पोषणयुक्त खाद्य पदार्थमा पनि नयाँ मिति र मूल्य कायम गरी बजारमा पठाइएको भेटिएको हो ।
उक्त कार्यमा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्रियका छन् ।पक्राउ पर्नेहरूमा बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, २३ वर्षीय महेश भण्डारी र २६ वर्षीय हरीश भण्डारी रहेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रूपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्रीवितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।
अवैध रूपमा विभिन्न प्रकारका प्रशोधित (औषधि) तथा पोषणयुक्त सामग्री नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
प्रहरीले विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामग्री २ सय कार्टुन र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

