काठमाडौं – माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तत्काल मन्त्रिपरिषद हेरफेरको पक्षमा छैनन्। एकीकृत समाजवादीका मन्त्री हेरफेर भए त्यसको प्रत्यक्ष दबाब आफूमाथि पर्ने बुझाइ दाहालमा रहेको छ।
माओवादीमा अर्थमन्त्री जनार्दन शर्मा तत्कालै परिवर्तन गर्नुपर्ने दबाब रहेको छ। दाहाल भने मन्त्री शर्मा हटाउने ‘मुडमा’ छैनन्। मन्त्री शर्माले बजेट निर्माणको मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तल–माथि गर्न लगाएका थिए।
त्यससम्बन्धी खुलासा गरेको थियो। तर, आफूलाई तत्काल नहटाउन मन्त्री शर्माले प्रचण्डमाथि दबाब बढाएको माओवादी स्रोतले बताउँछ। जसकारण प्रचण्डले ‘अर्थमन्त्री हटाउने भन्ने कुरा झुटो’भएको भाषण गर्नुपरेको नेताहरू बताउँछन्।
तर, माओवादीभित्र पनि कि अर्थमन्त्रीलाई हटाउनुपर्ने, नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने दबाब रहेको छ। ‘अर्थमन्त्रीका विषयमा उठेको प्रश्न व्यक्तिको विषय होइन, पार्टीको हो,’ माओवादीका एक नेता भन्छन्, ‘यसबारे अध्यक्षले निर्णय गर्नै पर्ने अवस्था छ।’ अर्थमन्त्रीका विषयमा अध्यक्ष प्रचण्डले ‘हुन्छ, गर्नुपर्छ’ भन्ने मात्रै जवाफ दिने गरेको नेताहरू बताउँछन्।
पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरू प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई गुहार्न थालेका छन्। पर्यटनमन्त्री आलेले बुधबार मात्रै प्रचण्डसँग भेट गरी पार्टीले मन्त्री फेरे ‘१३ जना सांसदसहित विद्रोह गर्ने’ बताएका थिए।
आलेले यसअघि पनि प्रचण्डलाई भेटेर आफूहरूलाई मन्त्रीबाट नहटाउनका लागि नेपालसँग कुराकानी गरिदिन आग्रह गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाबाट ‘ग्रीन सिग्नल’ पाएपछि नेपालले बिहीबार बिहान पार्टी सचिवालयको बैठक बोलाए। बैठकमा मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयनको एक मात्र एजेन्डामा छलफल भयो। धेरैको अनुमान थियो, साँझसम्म मन्त्रिपरिषद् हेरफेर हुन्छ। तर, भएन।
पार्टीको बैठकपछि माधवकुमार नेपाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। नेपालपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीसँग भेट गरे। नेपाल त्यसपछि फेरि बालुवाटार पुगेको थियो ।
देउवाले ‘साँझसम्म गरौंला’ भन्ने जवाफ फर्काए। तर, साँझ पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर नगरेपछि एकीकृत समाजवादीका नेताहरूले असन्तुष्टि जनाएका छन्। दाहालसँगको भेटपछि प्रधानमन्त्री ‘पछि हटेको’हुन सक्ने अनुमान एकीकृत समाजवादी नेताले गरेका हुन ।

