विराटनगर – कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करका कारण दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना सुरक्षा गार्ड र अर्का एक जना वृद्ध पुरुषको मृत्यु भएको हो।
एम्बुलेन्सको ठक्करबाट वृद्ध पुरुष र मोटरसाइकलले ठक्कर दिँदा उद्योगका सुरक्षा गार्डको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा अरु दुई जना घाइते भएका छन्।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकलयात्री बूढीगंगा गाउँपालिका–४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको हो। साइकलमा सडक पार गर्दै गरेका बेला एम्बुलेन्सले राति ८ बजेतिर ठक्कर दिँदा वृद्ध गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा बूढीगंगाकै विराट शिक्षण अस्पतालमा राति १२: ३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। खाली रहेको एम्बुलेन्सको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै एम्बुलेन्स चालक फरार बनेका छन्। एम्बुलेन्सलाई भने नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
त्यस्तै दक्षिणबाट उत्तरतर्फ नै जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बूढीगंगा–४ स्थित प्रिमियर वायर उद्योगअगाडि ठक्कर दिँदा सोही उद्योगमा कार्यरत सुरक्षा गार्डको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट उद्योगका सुरक्षा गार्ड भोजपुरको अरुण गाउँपालिका–५ घर भएका २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाए।
पैदल हिँडिरहेका बेला राति ८:४० बजेतिर दुर्घटनामा परेर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आइतबार बिहानका राति ३ः४० बजेतिर उनको मृत्यु भएको जानकारी प्रहरीले दिए। ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा अरु दुई जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय विकाश श्रेष्ठ र पछाडि सवार २३ वर्षीय शेसल परियार घाइते भएका छन् । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

