सबैलाई पठाउनु होला

‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,

लगाइ पानी बनाइ कुलो आएर गोडौला’

दाङ –   यो गीतमा भनेझैँ दाङका किसान छुपुमा छुपु गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य रहेका छन् । नेपाली कृषकका लागि असार १५ एउटा मौलिक पर्व नै हो । हिलोलाई छुने, दही चिउरा खाने दिनको छुट्टै महत्व रहेको छ ।

उन्नाइसौँ धान दिवस मलबिनाको रोपाइँ गरेर दाङका किसानले मनाउँदैछन् । कृषि ज्ञान केन्द्र दाङको आयोजनामा लमही–४ मा रहेको हरितक्रान्ति सहकारी संस्थाको सहयोगमा १९औँ धान दिवस मनाउन थालेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिनुभएको छ  ।

देउखुरीका किसानको खेतमा गएर धान रोपेर दिवस मनाउने तयारी छ । दिवस त मनाउनुप¥यो, बिनामल दिवस मनाउन बाध्य भयौँ”, उहाँले भन्नुभयो । नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया मलको अभाव भएपछि किसानले मल नछरेरै धान रोपाइँ गर्न थालेका छन् ।

यसरी खेती गर्दा धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता किसानलाई परेको छ । राप्ती गाउँपालिका–३ का प्रविन चौधरीले यसपालि मल नछरी धान रोप्नुभएको छ । सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि मलबिनै धान रोप्नुपरेको उहाँले बताउनुभएको थियो  ।

“मलका लागि धेरै ठाउँ धाइयो, तर पाइएन । मल नपाए पनि तयार भएको धानको बीउ खेर जान दिन भएन”, उहाँले भन्नुभयो, “यसपालि मलै नछरी धान रोपियो, उब्जनी त के हुने हो”, धानखेती सुरु हुँदा दाङका किसानले यस वर्ष अनुदानको रासायनिक मल पाउन सकेका छैनन् । अधिकांश किसानले मल नपाउँदा रोपाइँ गर्न गाह्रो परेको छ ।

“मानो रोपेर मुरी फलाउने समय हो, सप्रियो भने त ठिकै छ । सप्रिएन भने वर्षभरि के खाने भन्ने समस्या पर्ने भयो”, लमही–३ का कमल चौधरीले भन्नुभयो, “पानी पर्न थाल्यो । धानको बीउ रोप्नलाई तयार भइसक्यो, मल छैन । मल नछर्दा उब्जनी हुँदैन”, उहाँले भन्नुभयो । दाङका किसानले धानखेतीका लागि चाहिने रासायनिक मलको अभावमा धानखेती गर्दैछन् । किसानलाई सरकारले अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको थियो ।

यस वर्ष किसानले युरिया मल पाएका छैनन् । डिएपी र पोटास थोरै मात्रामा पाएका छन् । जिल्लामा करिब ३९ हजार ५०० हेक्टरमा धान रोपाइँ हुने ज्ञान केन्द्रको भनाइ छ । बुधबारसम्म जिल्लाभर करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ भने देउखुरी क्षेत्रमा मात्रै रोपाइँ सुरु भएको कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । नेपालमा २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । जिल्लामा अहिले मल मौज्दात छैन । केही मात्रामा मल ल्याएको र त्यो पनि सहकारीमार्फत वितरण गरिएको साल्टट्रेडिङ कर्पाेरेशनका प्रमुख रामबाबु गुप्ताले जानकारी दिनुभएको हो  ।

सरकारले समयमा मल उपलब्ध नगराउँदा समस्या भएको उहाँले बताउनुभयो । कृषि सामग्री कम्पनी लिमिटेडसँग रासायनिक मल नभएको कृषि सामग्री कम्पनी लिमिटेड दाङका प्रमुख टोपाराम गौतमले बताउनुभयो, “युरिया मल २० वा २५ दिनमा आउँछ कि भन्ने लागेको छ ।”

यो समयमा जिल्लामा एक हजार ५०० मेट्रिक टन युरिया र एक हजार मेट्रिक टन डिएपी आवश्यक रहेको लिमिटेडले जानकारी दिएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com