सबैलाई पठाउनु होला

तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आइतबार आयोजित ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा विद्यानाथ उपाध्यायले तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उल्लेख गर्दै भन्नुभयो,’यो झुठा विद्याको रूपमा यो परिचित छ । यो झारफुक गर्ने र मन्त्रको प्रयोग गर्ने मात्रै होइन, मन्त्रको मूल पक्ष भनेको ज्ञान हो ।’

तन्त्र शब्द रुढ भइसकेको भन्दै उहाँले अर्थ बुझाइमा कमजोरी रहेको बताउनुभयो ।
उहाँले तन्त्रको प्रयोगबाट मानवजीवनले फाइदा लिनु त्यसको प्रमुख लक्ष्य रहेको भन्दै संसार भोगको लागि बनेको तर भोगमै मात्र लिप्त नभएर मोक्ष पनि प्राप्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हाम्रा मानसिक र शारीरिक कष्ट वा दुःख नष्ट गर्न जुन साधना गर्छौँ त्यो तन्त्र विद्या हो ।’ तन्त्रको स्रोत भगवान शिव रहेकाले तन्त्रबाट शास्त्र आउँछ, शास्त्रबाट ज्ञान आउँछ ।’

प्रा उपाध्यायले भन्नुभयो, ‘शिवले पार्वतीलाई शिष्य बनाएर दिएको मन्त्र र ज्ञान नै अहिले गुरुदक्षिणाको रूपमा हामीले प्राप्त गरिरहेका छौँ । तन्त्र साधना हो । तन्त्रविद्या र स्नायुविज्ञानको संयोजनबाट अब अघि बढ्नुपर्छ । ब्रह्मविद्या वा आत्मविद्या सम्पूर्ण विद्या हो । ध्यान, योग, साधना ज्ञानसम्म पुग्ने बाटा हुन् । तन्त्रविद्या पनि मोक्ष, खुसी वा सुख प्राप्तिको साधन हो ।’

गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठान ज्ञानको उत्खनन गर्ने संस्था भएको बताउँदै त्यसै सन्दर्भमा आफ्नो कार्यक्षेत्रभित्र परेको विषयमा यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभरको हो  ।

उहाँले भन्नुभयो,’वैदिक वा परम्परागत विज्ञान र आधुनिक विज्ञान एकआपसमा सहकार्य नगरी पूर्ण हुँदैनन् । पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराको अध्ययनमा लागिपरेका छन् । परम्परागत र आधुनिक विज्ञान एकअर्काका परिपुरक रहेको हुँदा यस कार्यक्रमको औचित्य र उद्देश्य पनि यसैमा केन्द्रित रहेको हो ।’

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले तन्त्र,मन्त्र र साधनाले धेरै रोग निको हुने र मानव जीवन सफल हुने बताउनुभयो । उहाँले विभिन्न मठ, मन्दिरमा तन्त्रविद्यासहित पूजा र अनुष्ठान गरे रोग निको हुने उदाहरण दिँदै त्यसले विज्ञानलाई पनि चुनौती दिएको विचार व्यक्त गर्नुभएको छ  ।

दर्शनशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध केलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाउनुभएको हो  ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले आत्मिक शान्तिका लागि पनि तन्त्र र योगको आवश्यकता रहेको विचार व्यक्त गर्दै परिषद्ले मानव जीवनका हरेक क्षेत्रमा अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा रत्नराज पौडेलले चेतनाको विषयमा आधुनिक विज्ञानले अध्ययन गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com