काठमाडौँ – बैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई दिन्छु भन्दै नौ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पीडितहरुको गुनासो आएपछि काठमाडौं बूढानीलकण्ठ नगरपालिका-३ घुम्ती बस्दै आएकी २७ वर्षीया शोभा पौडेल पक्राउ परेकि छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले काठमाडौंको तिनकुने बस्ने नारायण बोगटीसहित नौ जनालाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँको दरले लिएर सम्पर्कविहीन भएपछि उनको खोजीका लागि वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गर्न पत्राचार गरिएको थियो । थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुझाइएको प्रहरीले जनाएको छ ।

