व्यास नगरपालिका – व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरु उपभोक्तालाई सहज रुपमा पानी वितरणका लागि अहोरात्र खट्दै आएको छ ।
केही दिनअघि परेको अविरल वर्षाका कारण खानेपानी नयाँ प्रशोधन केन्द्र नजिक पहिरो खस्न गई जोखिम बनेपछि समितिले पानी नआएको मौका छोपी आरसिसी पर्खाल लगाएर संरक्षण गर्न रातको समयमा पनि काम गर्दै आएको छ ।
करिब दुई लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र पहिराका कारण उच्च जोखिममा रहेपछि समितिका अध्यक्ष चिजबहादुर दरै, उपाध्यक्ष रामकुमार गोशली, सचिव राजेश्वर हडखले, कोषाध्यक्ष विष्णुबहादुर बस्नेत, सदस्य रामराज अधिकारी लगायतका पदाधिकारीहरु अहोरात्र खट्दै आएका हुन ।
त्यसैगरी खानेपानी संस्थाका व्यवस्थापक ईश्वरकुमार श्रेष्ठ, कर्मचारी कुलबहादुर बस्नेत, रत्न दरै र कृष्णबहादुर पौडेल लगायतका कर्मचारीहरुले मङ्गलबार रातिसम्म खटेर काम गरेका थिए ।
पहिलो चरणमा करिब चार मिटर अग्लो पर्खाल लगाइएको छ । दोस्रो चरणमा पनि चार मिटरको पर्खाल लगाउने योजना रहेको संस्थाका व्यवस्थापक ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभएको हो ।
जमिनको बेससहित करिब दश मिटर अग्लो पर्खाल लगाइन्छ । उहाँले भन्नुभयो, ‘पर्खालको लम्बाइ भने करिब दश मिटर लामो रहेको छ ।’
केही दिनयता पानी नपरेको हुँदा काम गर्न सजिलो हुने भएकाले रातको समयमा पनि समय मिलाएर काम गर्ने गरिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभएको हो । उक्त संस्थाले व्यास नगरपालिका–१ र १२ का गरी कूल दुई हजार ६८० घरधुरीमा धारा जडान गरी पानी वितरण गर्दै आएको जनाए ।

