नेपाल – नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए-गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरे ।
पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर देश र जनताको पक्षमा भए-गरेका सकारात्मक कामको विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
विसं २०७८ असार २९ गते गठन भएको वर्तमान गठबन्धन सरकारमा माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद मन्त्रालय सम्हालेका हुन ।
यसमध्ये बजेट निर्माणको अन्तिम दिन अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले बुधबारमात्रै राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद्मा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीका रूपमा बोधमायाकुमारी यादव पनि सहभागी हुनुहुन्छ ।
अध्यक्ष दाहालले वर्तमान सरकारमा माओवादीका तर्फबाट महत्वपूर्ण काम भएको भए पनि त्यसको व्यापक मात्रामा प्रचार–प्रसार हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले विपन्न नागरिकलाई २० युनिटसम्म बिजुली महसुलमा छुट दिने, आर्थिक वृद्धि र विकासमा दिइएको जोड तथा शिक्षा, भूमिलगायतका विषयमा मन्त्रीहरूले गरेको काम महत्वपूर्ण रहेको बताउनुभएको छ ।
उहाँले आफूले गरेका कामको सम्पूर्ण विवरण उपलब्ध गराउन मन्त्रीहरूलाई निर्देशन दिँदै देश र जनताको पक्षमा बढीभन्दा बढी इमान्दार भएर काम गर्न आग्रह गर्नुभएको छ ।
यस्तै अध्यक्ष दाहालले काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा पार्टीको सङ्गठन कमजोर हुनुको कारण खोजिने दृढटा व्यक्त गर्नुभएको छ । त्यसको अध्ययनका लागि एक समिति बनाइनेछ । त्यस्तै विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)मा भएको विवाद समाधानका लागि पनि विशेष पहल गरिने बताउनुभएको हो ।
उहाँले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुको पछाडि अन्तर्घात पनि एउटा कारण भएकाले त्यसको खोजबिन गरिने बताउनुभयो । त्यसका लागि अनुशासन आयोगलाई जिम्मा दिइने उहाँको भनाइ रहेको छ ।
अध्यक्ष दाहालले माओवादीले छिट्टै विशेष महाधिवेशनको आयोजना गर्ने समेत त्यस अवसरमा जानकारी दिनुभएको थियो । उहाँले पार्टीको क्रान्तिकारी चरित्र निर्माण गर्ने तथा सङ्घर्षका कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ सञ्चालन गर्ने योजनासमेत ल्याइने बताउनुभएको छ ।
अध्यक्ष दाहालको सम्बोधनपछि केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठकमा उहाँले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । केन्द्रीय समितिको बैठक जारी नै रहेको छ ।

