सबैलाई पठाउनु होला

म्याग्दी –   म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।

भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो ।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बिहीबार एकै दिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिनुभएको छ  ।

‘स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा एकाइबाट उपलब्ध हुन्छ’, उहाँले भन्नुभएको छ , ‘एकाइ सञ्चालन भएपछि सामान्य बिरामी हुँदासमेत दुईदेखि तीन घण्टा पैदल हिँडेर दरवाङ पुग्नुपर्ने समस्या हटेको छ ।’

खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ । दिच्याममा १३७ र दुखुमा १०२ परिवारको बसोबास  रहेको छ । गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको हो  ।

यसअघि दुखु र दिच्यामका बासिन्दा सामान्य बिरामी पर्दा पनि सिटामोलका लागि दरवाङ पुग्ने गरेका थिए । मालिका गाउँपालिकाको वडा नं ३ डाडागाउँ र पात्लेमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com