नेपाल – कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरे ।
सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटगरी लामो समयदेखि दलित सङ्घको महाधिवेशन हुन नसकेको जनाउँदै एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरे ।
सङ्घका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले विसं २०६९ मा सम्पन्न चौथो महाधिवेशनपछि १० वर्षसम्म दलित सङ्घको महाधिवेशन हुन नसकेको भन्दै यथाशीघ्र महाधिवेशन गराउने वातावरण निर्माण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएयो ।
यस्तै, दलित सङ्घका नेताले जातीय विवेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका हुन ।
उहाँहरुले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन माग गर्नुभएको छ ।
यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रतक्ष्य तर्फको निर्वाचनमा कम्तीमा जनसङ्ख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्नसमेत माग गरे ।
विसं २०५४ मा स्थापना भएको नेपाल दलित सङ्घको दोस्रो महाधिवेशन विसं २०५९, तेस्रो महाधिवेशन विसं २०६६ र चौथो महाधिवेशन विसं २०६९ मा सम्पन्न भएपछि हालसम्म महाधिवेशन हुन सकेको भने छैन ।

