गण्डकी – गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान गर्नुभएको हो ।
प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्याउनुभएको बताउँदै प्रशंसा गर्नुभएको हो ।
शिक्षण पेसामा आवद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताउनुभएको छ । प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमासमेत यसले निरन्तरता पाउने उहाँले विश्वास व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले रु १० करोड विनियोजन गरेको उहाँले जानकारी गराउनुभएको हो ।
समृद्धिका लागि अनुसन्धानको विशेष महत्व रहेको उल्लेख गर्दै उहाँले छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको बताउनुभएको छ ।
आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाबाट नाम छनोट गरिएको बताउनुभयो । छनोट समितिले तीन जनालाई छान्न सक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको उहाँले जानकारी दिनुभएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी कार्यविधि बनाए ।
विभूषण ग्रहणपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुक समृद्ध भएको उदाहरण प्रस्तुत गर्नुभएको छ । अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको बताउँदै उहाँले अनुसन्धान र विकासका लागि अब ढिला गर्न नहुनेमा जोड दिनुभएको हो । युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको उहाँको भनाइ रहेको छ ।
अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उहाँले एक सय वटा अनुसन्धानमध्ये १०-१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन ।’
प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको बताउँदै उहाँले केन्द्र खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको स्पष्ट पार्नुभएको छ । विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आउनुभएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मनुभएको हो ।

