सबैलाई पठाउनु होला

बागलुङ –    सानै उमेरदेखि व्यावसायिक सोच बनाउनुभएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देख्नुभएको उहाँ आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया जानुभएको थियो  ।

इपिएस भाषा अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आउनुभएको छ । उहाँले छ वर्ष कोरिया बसाइँ टुङ्ग्याएर  नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आउनुभएको हो ।

जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ ।’व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो’उहाँले भन्नुभएको हो , ‘दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।’ जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् ।

उहाँले कोरियाबाट आउदा कमाएको रकममध्ये रु १० लाखको लागतमा फर्म स्थापना गर्नुभएको हो । सुरुमा एक पटक कुखुरा हाल्दा रु एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताउनुभएको छ  ।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उहाँले भन्नुभयो । ‘सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन’ जिसीले भन्नुभएको छ ,’अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।’

उहाँले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आउनुभएको छ । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उहाँले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिनुभएको हो  । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ ।

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उहाँले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताउनुभएको छ  । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी रु ४६० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com