सबैलाई पठाउनु होला

नेपाल  –     नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ ।

भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्नो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका कैयौँ विषयमा साझा धारणा बनाउने र समस्याको समाधानमा केन्द्रित रहने बताउनुभएको छ  ।

अध्यक्ष दाहालले यो भ्रमण आकस्मिक जस्तो भए पनि पछिल्लो दुई महिनादेखि तयारी भइरहेको जानकारी पनि दिनुभएको हो  । उहाँले भन्नुभयो, ‘बाहिर आउँदा यो भ्रमण आकस्मिक जस्तो देखिए पनि त्यस्तो होइन । पार्टीभित्र पनि यस विषयमा मैले चर्चा गरेको थिएँ । यो दुई महिना पहिल्यै तय भएको भ्रमण हो ।’

उहाँले नेपालका लागि भारतका तत्कालीन राजदूत विनयमोहन क्वात्रामार्फत उपयुक्त समयमा भारत भ्रमण गर्न त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट निमन्त्रणा प्राप्त भएकोसमेत जानकारी दिनुभएको छ  ।

अध्यक्ष दाहालले आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रुपमा चित्रण गर्नुभयो । त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी र भारतीय जनतासँगको सम्बन्ध विस्तारका लागि समेत यो भ्रमण केन्द्रित रहने उहाँको भनाइ रहेको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमणमा जान लागेको उहाँले त्यस अवसरमा जानकारी दिनुभएको छ  । अध्यक्ष दाहालले नेपाल र भारतका बीचमा रहेका विभिन्न पक्षलाई केन्द्रमा राखेर आफूले भारतीय पक्षसँग कुराकानी गर्ने बताउनुभएको छ  ।

भ्रमणका क्रममा नेपालको समग्र विकास, द्विपक्षीय सम्बन्ध, बढ्दो व्यापार घाटा, इतिहासमा थाती रहेका विषय एवं सीमामा देखिएका समस्या कूटनीतिक संवादबाट टुङ्ग्याउनेलगायतका विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटमा छलफल हुने पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभएको हो  ।

उहाँले आर्थिक, द्विपक्षीय हित र अन्य चासोका विविध पक्षमा विचार विमर्श हुने हुने उल्लेख गर्नुभएको हो  । उहाँले हालै सम्पन्न चिनियाँ विदेश विभागका प्रमुखको भ्रमण र आफ्नो आजदेखि हुन लागेको भारत भ्रमणका बारेमा कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यसमा कुनै अन्तरसम्बन्ध छैन । अनावश्यक द्विविधा राख्नुको कुनै अर्थ छैन ।’

यस भ्रमणलाई भाजपा र आफ्नो पार्टीको सम्बन्ध विस्तारका रुपमा लिइएको उहाँको भनाइ छ । वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको शीर्ष नेताको हैसियतमा हुन लागेको यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्नुभएको छ  ।

भ्रमणअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले संवाद गरेको र परराष्ट्र मन्त्रालयसँग पनि भ्रमणका सम्बन्धमा कुराकानी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता हुने उहाँले जानकारी दिनुभएको छ  ।

प्रधानमन्त्री देउवासँगको छलफलमा आफूले यस भ्रमणको क्रममा भएका सहमति तथा सहकार्यका विविध क्षेत्रमा भएका प्रगतिका बारेमा के भूमिका खेल्न सक्छु भनेर छलफल भएको उहाँले बताउनुभएको हो  ।

देश र वर्तमान गठबन्धनका लागि समेत यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले भ्रमणलाई उत्साहपूर्ण रुपमा लिएको बताउनुभयो । उहाँले सो अवसरमा आफू निकट भविष्यमा नै चीनको भ्रमणमा समेत जान लागेको जानकारी दिनुभएको थियो  ।

उहाँले गोवामा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जीनपीङ रु भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको हैसियतमा नै त्रिपक्षीय साझेदारीका विषयमा महत्वपूर्ण विचारविमर्श भएको स्मरण गर्नुभएको हुन  ।

उहाँले भारतले सस्तो मूल्यमा रसियाबाट इन्धन आयात गरिरहेको सन्दर्भमा त्यस्तो सुविधा नेपालले समेत पाउन सके धेरै नै राहत हुने भएकाले त्यसतर्फ पनि छलफल गर्ने बताउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहालको बिदाइका लागि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु जनार्दन शर्मा, मातृकाप्रसाद यादव, झक्कुप्रसाद सुवेदीलगायतका नेता पुग्नुभएको थियो । अध्यक्ष दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com