नेपाल – प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल जारी रहेको छ ।
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिनुभएको छ ।
पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताउनुभएको । नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद जयकुमार राईले आमाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकार खोजी गरिरहँदा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्त गर्ने विषयलाई नागरिकको अधिकारका रुपमा लिइनुपर्नेमा जोड दिनुभएको छ ।
सांसद नारायणप्रसाद मरासिनीले गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृृतिक दृष्टिले नागरिकता पाउने विधेयकको बाटो सकारात्मक भएको बताउनुभयो । उहाँले सहजरुपमा नागरिकता प्राप्त गर्ने विषयमा सरकारले थप पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
सांसद शिवकुमार मण्डलले सरकारले विधेयक ल्याएसँगै नागरिकताबाट वञ्चित नागरिकलाई राहत मिलेको छ भन्नुभयो । बिनाकारण नागरिकताबाट वञ्चित गराइएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिने विषयमा पनि सरकारले सोच्नुपर्ने उहाँको भनाइ रहेको थियो ।
सांसद वीनाकुमारी श्रेष्ठले नागरिकताजस्तो आधारभूत अधिकार प्राप्त गर्न नसकिएको अवस्थामा नागरिकमा सामाजिक र मनोवैज्ञानिक असर परेको छ भन्नुभएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि विधेयकमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै उहाँले विधेयकले लैङ्गिकरुपमा विभेद गरेको बताउनुभएको छ ।
सांसद पूर्णकुमारी सुवेदीले गैरनागरिकलाई नागरिकता दिन नहुने र नेपाली नागरिक गैरनागरिक हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । ‘राज्यले नागरिकलाई नागरिकताको हकबाट वञ्चित गराउन हुँदैन’, उहाँले भन्नुभएको छ ।
सांसद सञ्जयकुमार गौतमले नागरिकता विधेयक ल्याएर सरकारले गैरनागरिक बनेका नागरिकलाई राहत दिएको बताउनुभयो । सांसद सरलाकुमारी यादवले कुनै पनि नेपाली नगारिक देशविहीन बन्नु नपरोस् भन्ने उद्देश्यले वर्तमान सरकारले यसअघि दर्ता गरेको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेको बताउनुभएको छ ।
सांसद प्रमिला राईले कुनै पनि नेपाली नागरिकले नागरिकता नपाएर भौतारिन नपरोस् भनी सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । आमा वा बुबाको नामबाट सन्तानले नागरिकता पाउने प्रावधान संविधानमा उल्लेख भए पनि बुबाको पहिचानबिना नागरिकता नपाउने समस्या देखिएकाले नेपाली आमाले जन्माएको सन्तानले स्वतः नागरिकता पाउन सक्नेमा प्रष्ट पार्न आग्रह गर्नुभएको छ ।
सांसद पवित्रा निरौला खरेलले नागरिकता विधेयक नआउँदा नेपालीका छोराछोरी शिक्षा, रोजगारीलगायत अधिकारबाट वञ्चित भएका छन् भन्नुभएको छ । उहाँले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय विधेयकमा राखिनु सकारात्मक भएको बताउनुभएको हो ।
सांसद बिन्दा पाण्डेले यो विधेयक संविधान उल्लेखित नागरिकताको प्रावधानसँग मेल नखाएको तथा विधेयक समानताको हकविपरीत रहेको गुनासो गर्नुभयो । उहाँले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधानमा पारस्परिक समानताको प्रचलन र लैङ्गिक समानताको पक्षमा मुलुकको हितलाई शिरमा राखेर विधेयक पारित गर्न आग्रह गर्नुभएको हो ।

