चितवन – नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।
आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताउनुभयो । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताउनुभएको हो ।
‘यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ’, उहाँले भन्नुभएको छ । भरतपुर महानगर र भरतपुर आँखा अस्पताल सहयात्री भएको बताउँदै उहाँले भन्नुभयो, ‘अस्पतालको भवन निर्माणका लागि केही प्रक्रिया अगाडि बढेका छन् । हामीले गरेको प्रतिबद्धताअनुसारको त्यो जिम्मेवारी पूरा गर्नेर्छाैं ।’
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न खुसीको विषय भएको बताउँदै यो खुशियालीलाई कायम राख्नुपर्ने बताउनुभएको छ ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौँ, भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच छ ।’
नेपालको आँखा उपचारको क्षेत्रमा सङ्घद्वारा सञ्चालित अस्पतालको सेवा ९० प्रतिशत रहेको जानकारी दिँदै चन्दले अस्पतालको स्तरोन्नतिका लागि केन्द्रबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सङ्घका केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाई, युआरका कन्ट्री डाइरेक्टर पौडेल, भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, नेत्रज्योति सङ्घ चितवनका पूर्वअध्यक्ष प्रभातकुमार जोशीलगायतले बोल्नुभएको थियो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुणस्तरीय व्यवस्थापन रहेकै कारण हामीले यो चिह्न प्राप्त गरेका हौँ ।’
उहाँले अस्पताल स्थापनाकालदेखि हालसम्म अस्पतालको विकासमा क्रियाशील रहनुहुने नेपाल नेत्रज्योति सङ्घका पूर्व र वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी तथा दाताप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा (ओपिडी) सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरे ।
यस्तै गत आर्थिक वर्ष २०७८-७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई ओपिडि सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभएको छ । भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् ।

