आज संबिधान दिवस, आजदेखि नै धरहरा सर्वसाधारणका लागि खुला भएको छ। एक दिन पाँच सय जनाले धरहरा बाट निःशुल्क रूपमा अबलोकन गर्न खुला गरिएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ त्यहाका बगैचा लगायत संरचना बनाउन बाँकी थियो। ३ वर्ष अघि उद्घाटन गरेपनि आज बाट धरहराको उपयोग भएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।
अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ।
धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ। परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउने तयारी छ। तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। जहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।

