काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले १६ जना राजदूतको नाम अनुमोदन गरेको छ । सरकारले सिफारिस गरेको १७ जनामध्ये समितिले १६ जनाको नाम मात्रै अनुमोदन गरेको हो ।
आज सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।
समितिको निर्णय अनुसार चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा, इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्रा.डा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ ।
यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ ।

