भ्रष्टाचार: देशको विकासलाई खुइल्याउने दीर्घरोग, भ्रष्टाचार हो। अब निर्मम कारबाहीको समय आएको छ
काठमाडौं, गुनासो चौतारी
भ्रष्टाचार अब अपराधमात्र होइन, राष्ट्रविरोधी प्रवृत्तिको एउटा खतरनाक रूप बनिसकेको छ। देशलाई समृद्धिको दिशातिर लैजाने हो भने भ्रष्टाचारको जरासम्म पुगेर निर्मूल पार्ने कठोर निर्णय र कार्यान्वयन अपरिहार्य भइसकेको छ।
राजनीतिक दलहरूबीच आरोप-प्रत्यारोपको खेलले भ्रष्टाचार अन्त्य हुने छैन। अब सुधारको सुरुवात आफैँबाट हुनुपर्छ हाम्रो पार्टी, हाम्रो नेतृत्व र हाम्रै व्यक्तिहरूभित्र रहेको भ्रष्ट अभ्यासको चीरफार गरेर।
राजनीतिक दलका नेताहरूले खुलेरै स्वीकार गरेका छन्– “भ्रष्टाचार गर्ने हामी नै हौं।” यस्तो अवस्थामा प्रश्न उठ्छ कारबाही कसले गर्ने? र कहिलेदेखि?
यदि साँच्चै नेतृत्वले देशको हित चाहन्छ भने आत्मआलोचना र आत्मशुद्धिको साहस देखाउनैपर्छ। सुशासनको अभ्यास भाषणबाट होइन, व्यवहारबाट देखिनुपर्छ।
अहिले आवश्यक छ भ्रष्टाचार, बेथिति र विसंगतिको विरुद्ध निर्मम कानुन निर्माण गर्नु। कानून निर्माण मात्र होइन, त्यसको कडाइका साथ कार्यान्वयनमा सहजता ल्याउनु। भ्रष्टाचारमाथिको कारबाही ‘छानेर’ होइन ‘समेटेर’ हुनु आवश्यक छ वडादेखि सिंहदरबारसम्म।
साना दलालदेखि ठूला पदाधिकारीसम्म कुनै पनि भ्रष्टाचारी नछुट्ने गरी छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउन सकिएन भने देशमा सुशासनको सपना केवल नारामा सीमित हुनेछ।
जनताको धैर्य अब सकिँदैछ। विश्वासको बाँध चुँडिनै लागिसकेको छ। अब समय आएको छ, नेताहरूले भनाइ मात्र होइन, गराइबाट देखाउने।
देश समृद्ध बनाउने हो भने भ्रष्टाचार शून्य सहनशीलताको नीतिमा अघि बढ्नैपर्छ।

