काठमाडौँ , निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार शक्ति बस्नेतसँग स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार प्राप्त उजुरीको छानबिनका क्रममा बस्नेतले बाजागाजा बजाउँदै निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको हो। छानबिनमा बाजागाजा बजाइरहेको समूहका सदस्यहरूलाई पाँच सय रुपैयाँका नोट वितरण गर्दै गरेको दृश्य प्रमाण फेला परेको आयोगले जनाएको छ।
उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत देखिएकाले किन निर्वाचन कानुनबमोजिम कारबाही नगर्ने भन्ने विषयमा आयोगले स्पष्टीकरण माग गरेको हो।
आयोगले जारी गरेको पत्रमा पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

