काठमाडौं , नेपाली कांग्रेसका सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही, ४ तर्फ प्रस्थान गरेका छन्। माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गरेपछि थापा सर्लाही जान लागेका हुन्।
सभापति थापाको सर्लाही यात्रा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ। उम्मेदवारी दर्तापछि प्रत्यक्ष रूपमा मतदातामाझ पुग्नुले कांग्रेसले सर्लाही ४ लाई उच्च प्राथमिकतामा राखेको सन्देश दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
सर्लाही ४ मा प्रतिस्पर्धा कडा रहने आँकलन भइरहेका बेला सभापति स्वयं मैदानमा उत्रनु कांग्रेसको चुनावी रणनीतिलाई थप आक्रामक बनाउने प्रयासका रूपमा बुझिएको छ। यस क्रममा थापाले स्थानीय नेता कार्यकर्तासँग भेटघाट, संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ।
थापाको यस भ्रमणले सर्लाही ४ मा मात्र होइन, समग्र मधेस क्षेत्रमा कांग्रेसको चुनावी माहोललाई थप गति दिने अपेक्षा गरिएको छ।

