सबैलाई पठाउनु होला

निर्वाचन नजिकिँदै गर्दा गाउँ गाउँमा राजनीतिक चहलपहल बढ्छ। दलका झण्डा फहरिन्छन्, नेता कार्यकर्ता घरदैलोमा पुग्छन्, जनताको पीडा सुन्छन् र परिवर्तनका ठूला ठूला आश्वासन बाँड्छन्। त्यो बेला राजनीति जनताको आँगनमा आइपुगेको जस्तो देखिन्छ। तर निर्वाचन सकिएपछि यही दृश्य हराउँछ। चुनाव जितेका प्रतिनिधि गाउँ छाडेर सहर केन्द्रित हुन्छन् र जनतासँगको संवाद क्रमशः टुट्दै जान्छ।

यो कुनै अपवाद होइन, नेपालको राजनीतिक संस्कारको स्थायी समस्या हो।

चुनावको बेला जनताको घरमा पुग्ने नेता चुनावपछि फोन उठाउन फुर्सद नहुने अवस्थामा पुग्छन्। गुनासो राख्ने ठाउँ बन्द हुन्छ, संवाद गर्ने ढोका बन्द हुन्छ। जसको मतले जितियो, जसको भरोसामा सत्तामा पुगियो, त्यही जनतालाई बेवास्ता गरिनु लोकतन्त्रको आत्मामाथिको प्रहार हो।

गाउँमा समस्या उस्तै छन्बे रोजगारी, पलायन, बाँझो खेतबारी, शिक्षा र स्वास्थ्यको अभाव। तर ती समस्या सम्झने नेता पाँच वर्षमा एक पटक मात्र देखिन्छन्। विकासको भाषण भइरहन्छ, तर व्यवहारमा परिवर्तन देखिँदैन। जनताको समस्या घोषणापत्रमा सीमित हुन्छ, सत्ता सञ्चालन सहरमै सीमित रहन्छ।

यदि नेताहरू साँच्चै परिवर्तन चाहन्छन् भने चुनावमा जस्तै खटिनु सधैँको अभ्यास बन्नुपर्छ। जनताको घरमा पुग्नु चुनावी रणनीति होइन, जनप्रतिनिधिको कर्तव्य हुनुपर्छ। फोन उठाउनु कृपा होइन, जवाफदेहिता हो। संवाद गर्नु कमजोरी होइन, लोकतान्त्रिक संस्कार हो।

आज जनताले नयाँ वाचा खोजिरहेका छैनन्, उनीहरू व्यवहारमा देखिने इमान्दारी चाहन्छन्। भाषण होइन, उपस्थितिको राजनीति चाहिएको छ। चुनावको बेला देखिने नेता होइन, सधैँ जनतासँग रहने प्रतिनिधि चाहिएको छ।

अब प्रश्न स्पष्ट छ राजनीति सत्ताको सुविधाका लागि हो कि जनताको सेवाका लागि? यदि यो संस्कार परिवर्तन हुँदैन भने, जनताले परिवर्तन गर्नेछन्। लोकतन्त्रमा अन्तिम निर्णय सधैँ जनताकै हातमा हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com