हुम्लामा हिमपात सुरु भएको छ। सदरमुकाम सिमकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा मंगलबार साँझदेखि हिमपात सुरु भएको हो। स्थानीयका अनुसार कतिपय स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ।
मंगलबार रातिदेखि परेको हिमपातपछि बुधबार बिहान सिमकोट आसपासका क्षेत्र सेताम्मे देखिएका छन्। निरन्तर हिमपातसँगै चिसो बढेको छ भने आवतजावत तथा दैनिकी प्रभावित बनेको छ।
हिमपातले भने कृषकहरूलाई राहत महसुस भएको छ। खेतबारीमा पर्याप्त चिस्यान पुग्ने र जेठासे बाली राम्रो हुने अपेक्षा बढेपछि कृषकहरू खुसी भएका छन्। तर, हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको स्थानीयले बताएका छन्।
विशेषगरी उच्च भेगका बस्तीमा चिसो अत्यधिक बढ्नुका साथै यातायात, सञ्चार र दैनिकीमा समस्या देखिन थालेको छ।

