सबैलाई पठाउनु होला

सुनासो चौतारी , वैदेशिक रोजगारीको अभाव र गरिबीका कारण ज्यानकै जोखिम मोलेर परदेशिन बाध्य नेपाली युवाको पीडादायी कथा फेरि एकपटक भारतको मेघालयमा दोहोरिएको छ। खोटाङको बराहपोखरी गाउँपालिका १ सालघारी भञ्ज्याङका एकै परिवारका दुई दाजुभाइ भारतको असुरक्षित कोइलाखानीमा ज्यान गुमाएपछि सिंगो गाउँ शोकमा डुबेको छ।

रोजगारीको खोजीमा गत पुस ३ गते भारत गएका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको विस्फोटमा घटनास्थलमै मृत्यु भएको हो। स्थानीय देवी रेग्मीका अनुसार बिहीबार अचानक भएको विस्फोटमा परेर दुवै दाजुभाइको ज्यान गएको हो।

घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर परदेशिएका दुई युवा छोरा अकालमै गुमाउँदा परिवार बिचल्लीमा परेको बराहपोखरी गाउँपालिका–१ का वडाध्यक्ष ढकबहादुर कार्कीले बताए। उनका अनुसार मृतकका घरमा वृद्ध आमाबुवा, कान्छो छोरा, जेठा छोराकी श्रीमती र सानो बच्चा छन्। परिवार धान्ने मुख्य आधार गुम्दा उनीहरू ठूलो संकटमा परेका छन्।

घटनाको खबर पाएलगत्तै मृतक दाजुभाइकी आमासहित आफन्तहरू शुक्रबार भारततर्फ शव लिन प्रस्थान गरेका छन्। सोही विस्फोटमा बराहपोखरी भञ्ज्याङका बमबहादुर, कर्णबहादुर र नरबहादुर खपाङ्गी मगर तथा उदयपुर साउनेका ललितबहादुर मगर गम्भीर घाइते भएका छन्। मेघालय पुगेका सात जनामध्ये बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल रहेको बताइएको छ। विस्फोटको जानकारी ताराबलले फोनमार्फत नेपालमा दिएका थिए।

बराहपोखरीसहित खोटाङका विभिन्न गाउँबाट हिउँदको समयमा रोजगारीको खोजीमा मेघालय जाने युवाको संख्या ठूलो रहेको स्थानीयहरू बताउँछन्। तर, अत्यन्तै जोखिमपूर्ण र असुरक्षित कोइलाखानीमा काम गर्दा नेपाली युवाले ज्यान गुमाउनु पर्ने अवस्था बारम्बार दोहोरिँदै आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त विस्फोटमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। घटनाको विस्तृत विवरण अझै सार्वजनिक भइसकेको छैन। यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँका दरले उपचार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com