कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। शुक्रबार राति लम्कीचुहा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत गप्का सडकखण्डमा भएको दुर्घटनामा साइकलमा सवार १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सेनाका अनुसार सुपप्र ०१–००१ ख २८५० नम्बरको ट्रकले साइकलमा सवार भण्डारीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीयले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारी साधनहरू रोकिएका छन्।
डीएसपी तिमिल्सेनाका अनुसार अहिले पीडित पक्ष र ट्रक व्यवसायीबीच छलफल भइरहेको छ। छलफलपछि मात्र सडक खुल्ने वा थप कदम चालिने प्रहरीले जनाएको छ।

