सबैलाई पठाउनु होला

२५ माघ, काठमाडौं ।
मुग्लिङ काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ दसकिलोमा दुई वटा बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे एकआपसमा ठोक्किएका थिए।

दुर्घटनापछि एक बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा ठोक्किँदा पसलमा समेत क्षति पुगेको छ। सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका ९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार पसल नजिकै टिपर रोकेर चिया पिउन बसेका तामाङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका १ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवातर्फ जाँदै गरेको बसमा सवार ८ वर्षीय सफलता पुलामी मगर घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com