काठमाडौं । केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको विद्रोहलाई सरकार, देश र जनताविरुद्ध लक्षित गतिविधि भएको बताएका छन्। बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यलाई सम्बोधन गर्दै उनले उक्त घटनालाई एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गरे।
ओलीले भने, “भदौ २३ र २४ मा जे नाम दिए पनि त्यो हाम्रोविरुद्ध, हाम्रो सरकारविरुद्ध र देश तथा जनताविरुद्ध आयोजना गरिएको थियो।” उनका अनुसार ती गतिविधि पार्टीको नीति र विचारमाथि केन्द्रित प्रहारका रूपमा रहेका थिए।
संसद् पुनर्स्थापनाको प्रसंग उठाउँदै उनले त्यसतर्फ आफूले पहल गर्दा पर्याप्त साथ नपाएको गुनासो पनि गरे। एमालेविरुद्ध सिर्जना गरिएको जनमतको लाभ उठाउने उद्देश्यले अन्य दलहरू चुनावमा गएको दाबी गर्दै उनले अहिले ती दलहरूको अवस्था स्पष्ट देखिएको टिप्पणी गरे।
निर्वाचन परिणामबारे प्रतिक्रिया दिँदै ओलीले एमालेले धक्का खाए पनि त्यो पार्टीको नीति वा विचारका कारण नभएको जिकिर गरे। “एमाले बिग्रिएको छैन, हामी सही ठाउँमा छौँ। संगठनात्मक रूपमा केही कमजोरी देखिए पनि नीतिमा कुनै त्रुटि छैन,” उनले भने।
उनले नवनिर्वाचित सांसदहरूलाई प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गर्न निर्देशन दिँदै सरकारका कमजोरीमाथि कडा खबरदारी गर्न आग्रह गरे। साथै, व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक विचारअनुसार मात्र संसदमा बोल्न पनि उनले निर्देशन दिए।
पार्टी एकता र अनुशासनमा जोड दिँदै ओलीले प्रतिकूल अवस्थामा आन्तरिक विवाद उठाउनु उपयुक्त नहुने बताए। उनले समाजमा विभाजनको राजनीति भइरहेको आरोप लगाउँदै जातीय आधारमा मत माग्ने प्रवृत्तिको विरोध गरे।
ओलीले २०७६ देखि २०७८ सम्म आफ्नै पार्टीभित्रबाट सरकार ढाल्ने प्रयास भएको आरोप पनि दोहोर्याए। उनले उक्त अवधिलाई संसदमा अराजकताको चरम अवस्था भएको टिप्पणी गर्दै लोकतान्त्रिक मूल्यविरुद्ध गतिविधि भएको बताए।
अन्त्यमा, उनले एमाले सांसदहरूलाई संसद र सडक दुवै मोर्चाबाट सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिँदै छिट्टै अभिमुखीकरण कार्यक्रममार्फत थप प्रशिक्षण दिने जानकारी गराए।

