१७ चैत, काठमाडौं ।
आज मंगलबार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
मौसमविद् रोजन लामिछाने का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ।
आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यसैगरी बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

