काठमाडौँ । फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट दोषी ठहर नहुँदै सार्वजनिक गर्ने अभ्यासबारे सर्वोच्च अदालतले कारण पेस गर्न आदेश दिएको छ।
अधिवक्ता कुमार थपलियाले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रहरी प्रधान कार्यालयसहित सम्बन्धित निकायलाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो। साथै, उक्त रिटलाई अग्राधिकारमा राखी छिटो सुनुवाइ गर्ने निर्णयसमेत अदालतले गरेको छ।
रिट निवेदनमा नेपालको फौजदारी न्याय प्रणालीभित्र गम्भीर विकृति देखिएको दाबी गरिएको छ। विशेषगरी पक्राउ परेकै अवस्थामा व्यक्तिको नाम, थर, तस्बिर तथा भिडियो सार्वजनिक गर्दै उनीहरूलाई समाजमै “अपराधी” का रूपमा प्रस्तुत गर्ने प्रहरीको अभ्यासले संविधान प्रदत्त मौलिक हकहरूको उल्लंघन गरेको जिकिर गरिएको छ।
निवेदकका अनुसार अनुसन्धानकै चरणमा रहेका व्यक्तिहरूलाई सार्वजनिक रूपमा अपराधीका रूपमा प्रस्तुत गर्दा उनीहरूको सामाजिक प्रतिष्ठा, मानसिक स्वास्थ्य तथा पारिवारिक सम्बन्धमा दीर्घकालीन असर पर्ने हुन्छ। यस्तो अभ्यासले “मिडिया ट्रायल” सिर्जना गर्ने र अन्ततः अदालतको अन्तिम निर्णय आउनुअघि नै व्यक्तिको सामाजिक छवि ध्वस्त हुने रिटमा उल्लेख छ।
संविधानको धारा २०(५) अनुसार कुनै पनि व्यक्तिलाई अदालतबाट कसूर प्रमाणित नभएसम्म निर्दोष मानिने अधिकार सुनिश्चित गरिएको छ। तर पक्राउ परेकै चरणमा पत्रकार सम्मेलनमार्फत अभियुक्तको पहिचान सार्वजनिक गर्दा उक्त सिद्धान्तको उल्लंघन हुने दाबी रिटमा गरिएको छ।
त्यस्तै, यस्तो कार्यले सम्मानपूर्वक बाँच्ने हक, स्वच्छ सुनुवाइको हक, गोपनीयताको हक तथा यातनाविरुद्धको हकमा समेत प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ। निवेदनमा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धिहरू विशेषतः ICCPR र CAT को पनि उल्लंघन भएको तर्क गरिएको छ।
यसअघि गृह मन्त्रालयमा यस्तो अभ्यास रोक्न निवेदन दिइए पनि कुनै सुनुवाइ नभएको र सरकारको नीति तथा कार्यक्रमहरूमा समेत यो विषय गम्भीर रूपमा नसमेटिएको कारण सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपरेको अधिवक्ता थपलियाले रिटमा उल्लेख गरेका छन्।
रिटमार्फत पक्राउ परेका व्यक्तिहरूलाई दोषी प्रमाणित नभएसम्म सार्वजनिक नगर्न, अनुसन्धानका क्रममा कुनै प्रकारको यातना प्रयोग नगर्न तथा जबरजस्ती लिइएको बयानलाई प्रमाणका रूपमा प्रयोग नगर्नु भनी परमादेश जारी गर्न माग गरिएको छ।

