एजेन्सी – सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा हार बाट जोगिएको छ ।घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको हो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
घरेलु मैदानमा रियलले खेलमा पकड बनाउदै १५औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । लुकास भाज्क्वेजको क्रस पासमा इस्कोले पोस्ट नजिकैबाट सुवर्ण अवसर खेर फाल्दा रियल अग्रता लिनबाट चुक्यो ।१८औं मिनेटमा लुका मोड्रिचको प्रहारलाई लि नोरमान्डले ब्लक गरे । २३औं मिनेटमा लुकास भाज्क्वेजको क्रसमा मारियानो डियाजको हेडर क्रसबारमा लागेर बाहिरिदा रियलले अग्रता लिनबाट चुक्यो । लगत्तै २४औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारलाई लि नोरमान्डले ब्लक गर्दै सोसिडाडको खतरा टारे ।
२७औं मिनेटमा क्यासमिरोको प्रयासले पोस्टको गति लिन सकेन । ३५औं मिनेटमा फर्लान्ड मेन्डी, इस्को र टोनी क्रुसको समन्वयमा बनेको मुभमा क्रुसको प्रहारलाई गोलरक्षक रेमिरोले बचाए । ४३औं मिनेटमा लुका मोड्रिचले जुविमेन्दीलाई बिट गर्दै गरेको प्रहारलाई रेमिरोले सहजै बचाए ।दोस्रो हाफमा सुरुवातमा सोसिडाडले घरेलु टोलीलाई दवावमा राख्दै केही आक्रमण बुन्दा गोल गर्न सफल भएको थियो । ४९औं मिनेटमा नाचो मोनरियलको चलाखीपुर्ण भली प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवालाई रोक्न कुनै समस्या भएन । ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई १–० को अग्रता दिलाए ।
नाचो मोनरियलको लेफ्ट फुटेट क्रसमा फर्लान्ड मेन्डीले प्रयास गरेपनि पोर्टुको हेडर क्रसबारमा लागेर गोललाईन भन्दा पछि बाउन्स भएर गोल हुदा कोर्टुवाले रोक्ने कुनै अवसर नै पाएनन् । ५८औं मिनेटमा क्रुसको प्रहार बाहिरिदा रियल बराबरीबाट चुक्यो ।६१औं मिनेटमा प्रशिक्षक जिनेदिन जिदानले एकैपटक तीन खेलाडी परिवर्तन गरेपछि रियलले खेलमा पकड बनाउदै लगातार आक्रमण बुनेपनि गोलको लागि अन्तिम मिनेट नै कुर्नुपरेको थियो ।
६४औं मिनेटमा लुकास भाज्क्वेजको क्रसमा क्यासमिरोको सिक्स यार्ड बक्सभित्रको हेडर पोस्ट नजिकैबाट बाहिरिदा रियल बराबरीबाट चुक्यो । ७८औं मिनेटमा मिकेल ओयरजावालको पासमा लि नोरमान्डको हेडर बाहिरिदा सोसिडाड अग्रता दोब्बर पार्नबाट चुक्यो ।८४औं मिनेटमा हुगो डुरो र रोड्रिगो गोएसको वान टु वान मुभमा रोड्रिगोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८८औं मिनेटमा भिनिसियसको पासमा लुकास भाज्क्वेज र क्यासमिरोले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।८९औं मिनेटमा सब्सिच्यट भिनिसियसले गोल गर्दै रियललाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । रियलका लागि १ सयौं खेल खेलिरहेका भिनिसियसले फेड भाल्भेर्डेको ब्याकहिल पासमा लुकास भाज्क्वेजको लो क्रसमा डुरोले भेट्न नसकेको बललाई गोलमा परिणत गरेका थिए ।
उनी ६१औं मिनेटमा इस्कोको स्थानमा मैदान छिरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोनी क्रुसको कर्नरलाई लुकास भाज्क्वेजले भेट्न नसक्दा विपक्षी डिफेन्डरले क्लियर गरिदिएपछि रियल जितबाट वञ्चित बन्यो ।यो बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको क्याटलान क्लब बार्सिलोनासँग समान ५३ अंक रहेपनि रियल गोल अन्तरमा पछि छ ।
रियल र बार्सिलोना एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ५ अंकले पछि छ । रियल सोसिडाड २५ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

