पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो घर जलाउने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
फेसबुकमा लेखिएको धम्कीपूर्ण स्टाटसको स्क्रिनसट सार्वजनिक गर्दै भट्टराईले राज्यले यस्ता व्यक्तिलाई समयमै नियन्त्रणमा लिएर विधिसम्मत कारबाही गर्नुपर्ने बताएका हुन्।
उनले यस्ता गतिविधि नियन्त्रणमा नलिए आगामी दिनमा प्रतिगामी र राष्ट्रघाती तत्वहरूले संघीय लोकतान्त्रिक गणतन्त्र तथा राष्ट्रिय सार्वभौमिकताविरुद्ध गम्भीर अपराध गर्न सक्ने चेतावनीसमेत दिएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत उक्त राख्दै भनेका छन् यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्।

अन्यथा जेन–जी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा भेडाको छाला ओढेर बसेका प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध वितण्डा मच्चाउने तथा थप जघन्य अपराध गर्ने दुस्साहस गर्न सक्छन्।
राज्यले यस्ता धम्की र आपराधिक गतिविधिलाई सामान्य रूपमा नलिई तत्काल छानबिन, दोषीको पहिचान र कानुनी कारबाही गर्नुपर्छ। राजनीतिक असहमति राख्ने अधिकार सबैलाई छ, तर धम्की, हिंसा र आपराधिक गतिविधिलाई कुनै पनि बहानामा छुट दिन सकिँदैन।
लोकतन्त्रको रक्षा केवल भाषणबाट होइन, कानुनको शासन र नागरिकको सुरक्षाको प्रत्याभूतिबाट हुन्छ। त्यसैले सरकार गम्भीर बनोस् र समयमै आवश्यक कदम चालोस्।

