हेटौँडा । उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, चालक ३२ वर्षीय छुनिलाल चौधरी, अदालतका रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, दिदी ३१ वर्षीया रिना बडु र छोरा २५ वर्षीय रितेन्द्र बडु घाइते भएका छन्।
प्रहरीका अनुसार रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडुसहित अन्य घाइतेहरूको टाउको तथा शरीरमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। भीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहे पनि सडक यातायात भने पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

