काठमाडौं । लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारीसाधनलाई नागढुंगामा होल्ड गरिएको छ।
बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा पहिरो खस्ने, ढुंगा झर्ने तथा सडकमा लेदो आएर यातायात अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि सवारीसाधन रोकिएको जनाइएको छ।
नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधन नागढुंगामै रोकिएपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन्। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेका छन्।
लगातारको वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो आउन सक्ने सम्भावना रहेकाले सडकको अवस्था र जोखिमको मूल्यांकनपछि मात्रै सवारीसाधन सञ्चालनमा ल्याइने बताइएको छ। मौसम तथा सडकको अवस्था सामान्य भएपछि सुरक्षा निकाय र सम्बन्धित निकायको समन्वयमा सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने तयारी गरिएको छ।
सम्भावित जोखिमलाई ध्यान दिँदै यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न तथा लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न आग्रह गरिएको छ। सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।

