गुनासो चौतारी ,
चर्चित गायिका शान्तिश्री परियार र रमेश घलेको स्वरमा सजिएको नयाँ लोकगीत ‘दुई दिनको जिन्दगी’ सार्वजनिक भएको छ। रमेश घलेको नयाँ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो मानव जीवनलाई खुसीसाथ बाँच्न, प्रेम, सद्भाव र आत्मीयता बाँड्न प्रेरित गर्ने सन्देश दिएको छ।
‘जिन्दगी केही होइन, दुई दिनको; दुई दिनको जिन्दगीमा हाँसेर बोलिदेऊ, खुसीले बोलिदेऊ’ भन्ने भावलाई गीतको मुख्य विषय बनाइएको छ। जीवन क्षणभंगुर भएकाले रिस, द्वेष र वैमनस्यभन्दा प्रेम, सद्भाव र खुसीलाई प्राथमिकता दिनुपर्ने सन्देश गीतले प्रस्तुत गरेको छ।
गीतमा ओम छिनालको शब्द रहेको छ भने शान्तिश्री परियार र रमेश घलेले स्वर दिएका छन्। किरण बीसी र ज्ञानु परियारको समूह आवाजसमेत रहेको गीतलाई मौलिक लोकभाकामा प्रस्तुत गरिएको छ।
गीतको भिडियो निर्देशन उमेश गुरुङले गरेका छन्। भिडियोमा रञ्जिता गुरुङ , आनन्द गुरुङ र शुक्र तामाङलगायतका कलाकारले अभिनय तथा प्रस्तुति दिएका छन्।
लोकभाका, मौलिक शब्द र जीवनोपयोगी सन्देशलाई समेटिएको गीतले नेपाली लोकसंगीत तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामाझ मौलिक कला र संस्कृतिको पहुँच विस्तार गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
गायक रमेश घलेका अनुसार गीत नयाँ युट्युब च्यानलमार्फत सार्वजनिक भएकाले सुरुवाती चरणमा अपेक्षित दर्शकमाझ पुर्याउन केही चुनौती हुन सक्छ। उनले नेपाली लोकसंस्कृति तथा कला–संगीतलाई माया गर्ने दर्शक र शुभेच्छुकलाई गीतको भिडियो हेरेर, शेयर गर्दै धेरैभन्दा धेरै दर्शकमाझ पुर्याउन आग्रह गरेका छन्।
नेपाली लोकसंस्कृतिको मौलिकता जोगाउँदै कलाकार, सर्जक तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्न दर्शक–श्रोताको साथ र मायाले थप ऊर्जा प्रदान गर्ने निर्माण पक्षको विश्वास छ।
‘दुई दिनको जिन्दगी’ मनोरञ्जनसँगै जीवनलाई प्रेम, खुसी र आत्मीयताका साथ बाँच्न प्रेरित गर्ने सन्देशमूलक लोकगीतका रूपमा प्रस्तुत गरिएको छ।

