७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन् ।
रास्वपाको केन्द्रीय कार्यालयमा सोमबार साँझ आयोजना हुने कार्यक्रममा गृहमन्त्री गुरुङले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन् । दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रास्वपाले जनाएको छ ।

