सबैलाई पठाउनु होला

चन्द्रवती–पोखरीछाप सडक निर्माणमा अन्योल : न्यायको पर्खाइमा निर्माण व्यवसायी, समाधानका लागि जनप्रतिनिधिको निरन्तर पहल

गुनासो चौतारी

चन्द्रवती–पोखरीछाप सडक निर्माणमा देखिएको लामो समयदेखिको विवाद, आर्थिक लेनदेनसम्बन्धी समस्या र निर्माणमा आएको अवरोधका कारण स्थानीयवासी अझै पनि सहज सडक सुविधाबाट वञ्चित छन्। सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीयको दैनिक आवतजावत, व्यापार–व्यवसाय तथा समग्र जनजीवन प्रभावित हुँदै आएको छ।

 

सडक निर्माण समयमै सम्पन्न होस् भन्ने उद्देश्यले सम्बन्धित वडा अध्यक्ष कृष्ण अधिकारीले आफ्नो तहबाट निरन्तर पहल गरिरहेका छन्। उनले आफू जनप्रतिनिधिको हैसियतले जनताको समस्यालाई बेवास्ता गर्न नसक्ने भन्दै सडक सम्पन्न नभएसम्म सम्बन्धित निकायमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै क्रममा उनले नेपाल सरकारका अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेसमक्ष समेत समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरेका छन्।

 

उपलब्ध विवरणअनुसार चन्द्रवती–पोखरीछाप सडक निर्माणको ठेक्का शंकरमाली निर्माण सेवा प्रा.लि. ले लिएको थियो। त्यसपछि काम पेटी ठेक्काका रूपमा संगम खड्कासँग जोडिएको र निर्माण कार्य अलपत्र परेको बताइएको छ। पछि शंकरमाली निर्माण सेवा र एके बिल्डर्सबीच सम्झौता गरी रोकिएको कामलाई पुनः अघि बढाउने प्रयास गरिएको थियो।

 

निर्माण पक्षका अनुसार एके बिल्डर्सले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गरेको छ। तर पुरानो कारोबार, आर्थिक दायित्व, भुक्तानी तथा चेकलगायतका विषयमा विवाद उत्पन्न भएपछि निर्माण कार्य पुनः प्रभावित भएको बताइएको छ।

 

एके बिल्डर्सका सञ्चालक ढाकबहादुर पराजुलीले आफूले सडक निर्माणको जिम्मेवारी लिएपछि इमान्दारीपूर्वक काम अघि बढाउँदै आएको दाबी गरेका छन्। तर पुरानो कारोबारसँग जोडिएको विवादका कारण आफूलाई अनावश्यक दुःख, झन्झट तथा मानसिक तनावसमेत व्यहोर्नुपरेको उनको गुनासो छ।

 

पराजुलीका अनुसार आफूले निर्माण कार्यमा ठूलो लगानी गरिसकेको, निर्माण सामग्री खरिद गरेको तथा मजदुर परिचालन गरेको भए पनि उत्पन्न विवादका कारण समयमै भुक्तानी व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। निर्माण पक्षले आफूले सामान खरिद तथा मजदुरको पारिश्रमिक व्यवस्थापनका लागि आर्थिक भार बेहोर्नुपरेको र लामो समयदेखि श्रमिकको भुक्तानीसमेत प्रभावित भएको दाबी गरेको छ।

 

उनले शंकरमाली निर्माण सेवा प्रा.लि.सँग सम्बन्धित दानबहादुर कार्कीबाट विवाद तथा अवरोध सिर्जना भएको आरोप लगाउँदै यस विषयमा सम्बन्धित राज्य निकायलाई जानकारी गराइसकेको र निष्पक्ष न्यायको प्रतीक्षामा रहेको बताएका छन्। साथै आफूलाई अनावश्यक हैरानी, दुःख, झन्झट तथा मानसिक तनाव दिएको विषयमा दानबहादुर कार्कीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सत्यतथ्य छानबिन गर्न तथा जायज भुक्तानी दिलाउन सम्बन्धित निकायसमक्ष अपिल गरेका छन्।

 

दानबहादुर कार्की पुरानो आफूले गरेको कारोबारको भुक्तानी समेत एके बिल्डर्सले गरेको कामबाट भुक्तानी गर्ने प्रपञ्च रच्दै भुक्तानी एकै बिल्डर्सले गरेको कामको रकम बाट भुक्तानी गरेको पाइन्छ । भुक्तानी भइसकेको खाताको रकम समेत ढुक्क भएपनि सामान खरिद तथा लेबरलाई समेत दिन सकेको छैन।

 

यद्यपि पराजुलीले लगाएका आरोप, पुरानो कारोबारमा भएको भनिएको अनियमितता तथा आर्थिक दायित्वसम्बन्धी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। सम्बन्धित पक्षको भनाइ र उपलब्ध कागजातका आधारमा निष्पक्ष छानबिनपछि मात्र वास्तविकता स्पष्ट हुने देखिन्छ।

 

यस विवादको सबैभन्दा ठूलो मार भने सडक प्रयोग गर्ने सर्वसाधारण नागरिकले खेपिरहेका छन्। वर्षौँदेखि सडक निर्माण पूरा हुने आशामा बसेका स्थानीयवासीका लागि ठेक्का, पेटी ठेक्का, आर्थिक कारोबार वा व्यक्तिगत विवादभन्दा महत्वपूर्ण विषय भनेको सडकको बाँकी काम तत्काल सम्पन्न हुनु हो।

 

स्थानीयवासीको माग स्पष्ट छ व्यक्तिगत, राजनीतिक वा व्यावसायिक विवादका कारण जनताको सडक निर्माण रोकिनु हुँदैन। यदि आर्थिक वा ठेक्कासम्बन्धी विवाद छ भने सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र निर्माण कार्यलाई भने अवरुद्ध हुन दिनु हुँदैन।

 

यसै विषयमा वडा अध्यक्ष कृष्ण अधिकारीले पनि सम्बन्धित निकायसँग समन्वय गर्दै समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताएका छन्। उनको भनाइमा जनताको सडक निर्माण सम्पन्न गराउनु नै अहिलेको प्राथमिकता हो।

 

चन्द्रवती–पोखरीछाप सडक केवल एउटा निर्माण आयोजना मात्र होइन, यस क्षेत्रका नागरिकको दैनिक जीवन, आवतजावत र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधार हो। त्यसैले विवादको निष्पक्ष छानबिन, निर्माण व्यवसायीको जायज दाबीको सुनुवाइ, श्रमिक तथा आपूर्तिकर्ताको भुक्तानीसम्बन्धी समस्या समाधान र बाँकी निर्माण कार्य तत्काल अघि बढाउनु आवश्यक छ।

 

गुनासो चौतारीको अपिल:

जनताको सडकलाई कुनै पनि व्यक्तिगत वा व्यावसायिक विवादको बन्धक नबनाइयोस्। विवाद छ भने कानुनी प्रक्रियाबाट समाधान गरियोस्, दोषी भए कारबाही गरियोस् र निर्दोषलाई अनावश्यक हैरानीबाट जोगाइयोस्। विशेषगरी निर्माण व्यवसायी ढाकबहादुर पराजुलीले उठाएका गुनासा र आफूले व्यहोरेको भनिएको मानसिक तथा आर्थिक पीडाबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।

 

सडक निर्माण सम्पन्न गरौँ, विवादको निष्पक्ष छानबिन गरौँ जनताको दुःख अन्त्य गरौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com