गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित खानिबेसीमा भीषण वर्षापछि आएको बाढीले आरुघाट–माछिखोला भित्री कच्ची सडकखण्डमा क्षति पुर्याएको छ।
ठाडोखोलामा आएको बाढीले आज बिहान सडकको करिब ६० मिटर भाग भत्काएपछि सडक अवरुद्ध भएको हो। सडकको ठूलो हिस्सा बाढीले बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
बाढीका कारण सडक अवरुद्ध भएपछि स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ। थप वर्षा भएमा सडकको अन्य भागमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन्।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ।

