काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुन शनिबार कतारको दोहा प्रस्थान गरेका छन्।
सोमबार र मंगलबार हुने बैठकमा सहभागी हुन वाग्ले शनिबार साँझ दोहा प्रस्थान गरेका हुन्। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। नेपालले विभिन्न पूर्वाधार आयोजनाका लागि बैंकबाट वित्तीय सहयोग खोज्दै आएको छ।
अर्थमन्त्री वाग्लेले बैठकका क्रममा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्त जुटाउने विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ।
बैठक तथा द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको, पछिल्ला विपद्बाट मुलुकले व्यहोरेको क्षति तथा पुनर्निर्माणमा लाग्ने लागतबारे उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष विषय उठाउने तयारी गरेका छन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीपछि सरकारले जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढेको विषयमा वैज्ञानिक प्रमाण तथा तथ्यांक अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरिरहेको छ।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले भारत, चीन, बंगलादेश र माल्दिभ्सका समकक्षी तथा एआईआईबीका अध्यक्षसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपालले एआईआईबीमार्फत विभिन्न पूर्वाधार आयोजनाका लागि वित्तीय सहयोग प्राप्त गर्दै आएको छ। बैठकपछि नेपालले एआईआईबीको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्ने अर्थ मन्त्रालयले जनाएको छ।

