सबैलाई पठाउनु होला

नेपालगन्ज –   हवाई दुर्घटना हुनुको मुख्य कारणका रूपमा लिइन्छ मानवीय त्रुटि र मौसम। दुर्घटनापछि छानबिन गर्न बनेका समितिले पनि यिनै विषयलाई कारण औंल्याउँदै आएका छन्। तर अनुभवि पाइलटहरू हवाई रुटमा टावरसँग सम्पर्क नहुने स्थान पनि जोखिमका रूपमा मान्छन् ।

उडानका क्रममा केही समस्या भए यस्ता स्थानमा पुग्दा विमानस्थलसँग सम्पर्क गर्न सकिँदैन। फर्कनु परे कता मोड्ने वा उचाइ कति लिने चालक आफैंले निर्णय गर्न सक्ने अवस्था कम हुन्छ। यस्तो भए दुर्घटनाको जोखिम उच्च हुन्छ।

पहाडी र हिमाली क्षेत्र बढी भएको नेपालमा धेरै विमानस्थल यस्तै स्थानमा  रहेका छन्। डाँडा र हिमाल नाघेर ती विमानस्थलमा पुग्नुपर्छ। जहाजका रुट लामा–लामा छन्। एउटा विमानस्थलबाट उडेको जहाज अर्को विमानस्थलमा नपुग्दासम्म बीचमा कुनै विमानस्थल टावर नभए सम्पर्क छुट्छ।

उडेको विमानस्थलसँग सम्पर्क छुटे र बस्ने विमानस्थलसँग पनि नजोडिए सम्पर्क विच्छेद अवस्थामा त्यस्ता विमान रहने गर्दछ। यो अवस्थामा जहाजमा केही भए चालकलाई पनि समस्या हुने बताउँछन् लामो समयदेखि जहाज चलाइरहेका क्याप्टेन उद्धव घिमिरे।

जहाजसँग उडेको बेला  सम्पर्क यसरी गरिन्छ

जहाज उड्ने समयदेखि बसेको समयसम्म विमानस्थलका टावरसँग निरन्तर सम्पर्क हुनुपर्छ। जाने आउने रुटदेखि हावाको अवस्था सबै टावरसँगको सल्लामा चालकले निर्णय लिन्छन्। उडानको समयमा केही समस्या भए पनि टावरलाई जानकारी गराएर निर्णय लिने हो। तर, सम्पर्क बिच्छेद हुने स्थान र अवस्था पनि नेपालको हवाई रुटमा रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्र्रवक्ता निमित्त उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार उड्डयन क्षेत्रमा यसलाई ‘लाइन अफ साइट कम्युनिकेसन ग्याप’ अर्थात् विमान सेवामा पाइलट र टावरबीच भीएचएफ (भेरी हाई फ्रिक्वेन्सी)बाट हुने सञ्चार सम्पर्कमा आउने अवरोध भनिन्छ। यस्तो ठाउँमा पाइलटले सञ्चार विच्छेद भएर उडान भर्नुपर्ने हुन्छ।

प्रवक्ता कर्णकाअनुसार विमान सेवामा भीएचएफ र एचएफ (हाई फ्रिक्वेन्सी) रेडियो फ्रिक्वेन्सीबाट सञ्चार गरिन्छ। जुनसुकै विमान र विमानस्थलमा यो दुवै प्रविधि जडान भएको हुन्छ। एफएफको सम्पर्क ग्राउन्ड टु ग्राउन्ड कन्ट्याक्ट हुन्छ। लाइन अफ साइटको समस्या हुँदैन।

यो एएम ब्यान्डको रेडियो प्रसारण प्रविधि जस्तो हो। यसको वेभ पहाड र वन जंगलमा पनि सुनिन्छ। भीएचएफ प्रविधि एफएम रेडियो जस्तो अग्ला पहाड र वन जंगल आउँदा वेभहरू छेकिन्छ। उडान रुटमा रहेका अग्ला डाँडा, हिमाल र वन जंगल आउँदा भीएचएफ प्रविधिबाट सञ्चार सम्पर्क विच्छेद हुन्छ। नेपालका हिमाली र पहाडी जिल्लामा हुने उडानमा यस्ता धेरै ठाउँ रहेका छन्, जुन रुटबाट विमान उडाउँदा पाइलट र टावरबीच सम्पर्क हुँदैन।

यस्ता छन् चालकको अनुभव 

१८ मिनेटसम्म सम्पर्क नहुने स्थान नेपालका हवाई रुटमा रहेका  छन्। यस्तो स्थानमा पनि जहाजलाई उडाएर गन्तव्यमा पुर्‍याउने पाइलट धेरै छन्। त्यसमध्येका एक हुन् उद्धव घिमिरे। अग्नि र सिम्रिक एयरको डोेमियर जहाज जोमसोम र लुक्ला रुटमा घिमिरेले ८ वर्ष उडाए। तीन हजार पैतीस सय पटक
आवत जावत गरेका छन् ।

जोमसोम जाँदा घोडेपानीदेखि धौलागिरि र नीलगिरि पहाडको खोँच (लेते पास क्षेत्र)मा पुग्दा सम्पर्कविहीन अवस्थामा जहाज उडाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘चारदेखि पाँच मिनेट जहाज खोँचमा हुन्छ। त्यत्तिबेला पोखरासँग पनि सम्पर्क हुँदैन।

जोमसोमसँग पनि सम्पर्क हुँदैन’, पाइलट घिमिरेले अनुभव सुनाए, ‘टावरसँग सञ्चार त हुनैपर्छ। सञ्चार हुनु अनिवार्य हो। टावरसँग सम्पर्क नभएरै दुर्घटना हुन्छ भन्ने त छैन। अहिलेसम्म टावरसँग सम्पर्क नभएर दुर्घटना भएको भन्ने पनि छैन।’

सन् २००७ देखि विमान उडान भरिरहेका क्याप्टेन घिमिरे अहिले भने नेपाल वायु सेवा निगममा काम गर्छन्। उनी भन्छन्, ‘२०–२५ वर्षदेखि सो ठाउँमा सम्पर्क विच्छेद हुन्छ भनेर पाइलटहरू अभ्यस्त छन्। त्यही अनुसारको पूूर्वतयारी गरिरहेका हुन्छन्।’ क्याप्टेन घिमिरेले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका पहाडी र हिमाली जिल्लाको उडानमा अझैं धेरै लामो समय सम्पर्क विच्छेद हुने गरेको बताएका छन् ।

हुम्लामा १८ मिनेट सम्पर्क विच्छेद

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा हुने उडानमा ठूलो समस्या छ। हुम्लाको उडानमा १८ मिनेट जहाज सम्पर्कविहीन हुन्छ। नेपालगन्ज–सिमकोट (हुम्ला) उडान ४० मिनेटको हुन्छ। नेपालगन्जबाट उडानको १७ मिनेटसम्म टावरसँग सम्पर्कमा भएको विमान एकै पटक सिमकोट पुग्न ५ मिनेट बाँकी रहेको बेलामा मात्र टावरसँग जोडिन्छ।

‘१८ मिनेटसम्म त कुनै सम्पर्क नै हुँदैन। मौसम कस्तो छ भनेर नियमित सोधिरहँदा सजिलो हुन्थ्यो। सञ्चार नहुँदा गाह्रो हुन्छ’, नेपालगन्ज–सिमकोट उडान भरिरहेको निजी विमानका एक पाइलटले भने, ‘हुम्लाको  सर्केगाड नजिकैको डाँडाबाट सिमकोट भ्याली नपुग्दैका डाँडाहरूको खोँचमा सम्पर्क विच्छेद हुन्छ। कसैसँग पनि सम्पर्कमा हुँदैन।

लाइन अफ साइट कम्प्युनिकेसन ग्याप हुन्छ। फ्रिक्वेन्सी छेकिन्छ।’ हुम्लाको जस्तै समस्या मुगुको उडानमा पनि छ। नेपालगन्जबाट मुगुको राराका लागि उडेको विमान उत्तरी भेगमा धेरै ठूल्ठूलो पहाडको बाटो हुँदै जान्छ। नेपालगन्जबाट उडेको १७ मिनेटपछि सम्पर्क विच्छेद भएको विमान एकैपटक रारा पुग्न ५ मिनेट अगाडि मात्र टावरको सम्र्पकमा आउँछ। १२ मिनेट पूरै सम्पर्क विच्छेद भएर विमान उड्छ।

जुम्ला, बाजुरा र डोल्पा जान ३० मिनेट लाग्छ। जुम्लामा ५ मिनेट मात्र सम्पर्क विच्छेद हुन्छ। त्यहाँ फाँट भएकाले सम्पर्क हुन्छ। नेपालगन्जबाट डोल्पा जाँदा रुकुमको चौरजहारीसम्म सुनिन्छ। त्यहाँबाट ११ हजार माथि भएपछि सुनिदैन। चौरजहारी विमानस्थलसँग सम्पर्क हुन्छ वा रुकुमको सल्ले विमानस्थलसँग सोध्ने हो।

डोल्पा जाँदा रुकुम सुनेर केही फरक पर्दैन। डोल्पै सुन्नुपर्छ।  बाजुरा र जुम्लामा भने २ मिनेट सम्पर्क हुँदैन। डोटीमा अझैै धेरै समस्या भएको विमान चालकहरू अनुभव सुनाउँछन्। नेपालगन्जदेखि रुकुमको सल्ले र चौरजहारी जाँदा भने सञ्चार विच्छेदको समस्या हुँदैैन। काठमाडौंबाट सल्ले विमानस्थलको उडानमा भने सम्पर्क विच्छेदको समस्या रहेको छ।

प्रहरीले आकाश हेरेको भरमा उडान

हवाई उडामा सबैभन्दा बढी समस्या कालीकोट जाँदा हुने गरेको बताउँछन् चालकहरू। त्यहाँ कुनै सञ्चार सम्पर्क हुँदैन। सो क्षेत्रमा उडान गर्दा पाइलटले कालिकोट प्रहरी कार्यालयलाई फोन गरेर मौसम के छ भनेर
सोधेर जान्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com