काठमाडौं – ‘अलि पहिले अण्डाको मूल्य (१५ बाट १७ अर्थात् प्रतिगोटा २ रुपैयाँ) बढाएर प्रति क्रेट ५०० नजिक पुर्याए, केही दिनअघि जारको पानी महँगो भयो, भर्खरै दुई–तीन दिनअघि चाउचाउ महँगो बनाएछन्’ बजार महँगी बारेको प्रश्न खस्न नपाउँदै रेनुका देवकोटा बोल्न थालिन्, ‘तरकारी बढाउँछन् र घटाउँछन् । वाइवाइ चाउचाउको प्याकेटमा बेच्ने मूल्य २० रुपैयाँ लेख्थ्यो, हामीलाई १८ रुपैयाँमा दिन्थ्यो । तर अब हामीसँग नै २० लिन थाल्यो । प्याकेटमा २२ रुपैयाँ लेखेको छ ।’
विष्णुमती नदी किनाराको बायाँतर्फ शोभा भगवती मन्दिर छेउ खाजा पसल चलाएर जीविकोपार्जन गर्ने देवकोटालाई महँगीले थामिनसक्नु गरी पिरोलेको छ । ग्राहकलाई चियाँ पिलाउँदै महँगीबारे हामीसँग गफिन तयार भएकी उनले गुनासो गरिन्– ‘भान्सा महँगिएर बासै उठाउने भयो ।’
चाल नपाउने गरी थोरै थोरै गर्दै बजार मूल्य अचाक्ली भएको उनले सुनाइन् । ‘मेरो सानो चियापसल र घरको भान्सा हेर्नुस् न यो एक वर्षमा नमहँगिएको कुनै चिज छैन’ देवकोटा भन्छिन्, ‘टिस्यु पेपरदेखि भएभरका सबैको मूल्य बढ्यो । पानी नै जारमा १० र बोत्तलको एक कार्टुनमा ५० रुपैयाँ महँगो भयो ।’ मानिसको श्रमबाहेक सबै कुरा महँगो भएको भन्दै उनले सुनाइन , ‘मुलुकमा सरकार भएको आभास नै भएन ।’
ठमेलमा पर्यटकका लागि रेस्टुरेन्ट चलाउने व्यवसायी एकराज अधिकारीलाई देवकोटाको महँगी पीडा आफ्नै जस्तो लाग्छ । २० वर्षदेखि रेस्टुरेन्ट व्यवसायमा रहेका अधिकारी यस वर्ष जस्तो एकै पटक महँगी पहिले कहिल्यै नबढेको दाबी गर्छन् ।
‘एक वर्षको बीचमा रेस्टुरेन्टको भान्सा २५ देखि ३५ प्रतिशतसम्म महँगो भएको छ’ देशभरका रेस्टुरेन्ट सञ्चालकहरूको संस्था (रेवान) का महासचिव समेत रहेका उनी भन्छन्, ‘मेनुमा ३५ प्रतिशतसम्म वृद्धि नगरे वा महँगी नियन्त्रण नभए रेस्टुरेन्ट व्यवसाय बन्द हुन्छ ।’
महँगी क्रमैसँग हुने र एक समयमा गएर पुनः ओरालो लाग्ने विगतको प्रवृत्ति यस वर्ष नदेखिएको उनले बताएका छन् । मासु, तेल, ग्याँस, मैदा, चिनी सबै वस्तु महँगो हुँदा सञ्चालन खर्च समेत नउठ्ने वातावरण बनेको उनको दाबी रहेको छ ।
‘टोभ्याक्स सस एक वर्षअघि १०० रुपैयाँमा एक बोतल पाइन्थ्यो अहिले ४०० रुपैयाँ पुगेको छ’ अधिकारी थप्छन्, ‘त्यसको साटो कागती प्रयोग गरौं भनेको कागती त्योभन्दा महँगो भयो । व्यवसाय कसरी गर्ने ?’ कतिपय बेलामा पैसा तिरेर पनि आवश्यक वस्तु नपाइएको भन्दै उनले आपूर्ति प्रणाली व्यवस्थित गर्न सरकारलाई आग्रह गरेका छन् ।
व्यवसाय नै बन्द गर्नुपर्ने तहमा बजारमा बढेको महँगीलाई पुष्ट्याइँ गर्ने उदाहरण हुन् यी दुई पात्र । तर यसको प्रभाव सर्वत्र मात्रामा रहेको छ ।
आइतबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ तथा पेट्रोलमा २१ रुपैयाँले मूल्यवृद्धि गरेको छ। सामान्यतया २७ प्रतिशत डिजेलको मूल्य बढ्दा समग्र क्षेत्रमा चार प्रतिशत मूल्यवृद्धि हुने जानकारहरु बताउँछन् ।
नेपाल खुद्रा व्यापार संघ र नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि कहालीलाग्दो महँगीलाई देखाउँछ । चालु आवको १० महिनाको समग्र मूल्यवृद्धिलाई मात्रै हेर्ने हो भने मुलुकको समग्र महँगी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको देखिन्छ । दुई वर्ष लामो कोभिड महामारीका कारण क्रयशक्ति गुमेका उपभोक्ता महँगीले थलिंदा पनि सरकार भने यसलाई अन्तर्राष्ट्रिय घटनाको उपज मात्रै मानेर बसिरहनछ ।
नेपाल खुद्रा व्यापार संघका अनुसार गएको एक वर्षमा दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यमा उच्च मूल्यवृद्धि भएको छ । संघकी तथ्यांक अधिकृत ज्योति थापाका अनुसार चामल, दाल, तेल, गेडागुडी, पीठो र मसला समेतमा मूल्य बढेको छ । सबैभन्दा उच्च मूल्यवृद्धि तेल र घ्यूमा रहेको छ ।
२०७८ असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको मूल्य २७९ असारमा थोक मूल्य प्रतिलिटर ११० रुपैयाँले बढेर ३३० पुगेको छ । यस्तै २४० रुपैयाँमा पाइने सूर्यमुखी र तोरी तेलको मूल्य लिटरमा ११० रुपैयाँले नै बढेर ३५० रुपैयाँ पुगेको छ । गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दालको मूल्य यो वर्ष किलोमै २५ रुपैयाँले बढेर १७५ रुपैयाँ पुगेको छ ।
रहर दाल किलोमा १० रुपैयाँले बढेर १७० बाट १८० रुपैयाँ प्रतिकिलो पुगेको छ । प्रतिकिलो २०० रुपैयाँमा पाइने राजमाको मूल्य किलोमै २० रुपैयाँले बढेको छ भने १०० रुपैयाँको सेतो केराउको मूल्य किलोमै ३० रुपैयाँले बढेर १३० रुपैयाँ कायम भएको छ ।
यस्तै चामल र पीठोमा पनि एक वर्षको बीचमा उच्च मूल्यवृद्धि भएको छ । स्टिम जिरा मसिनो चामलको मूल्य किलोमा ५ रुपैयाँले बढेर १७५ रुपैयाँ पुगेको छ भने लनग्रेन बासमती चामल किलोमा १५ रुपैयाँले महँगिएर १४५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
ताइचिन चिउराको मूल्य किलोमा २० रुपैयाँले महँगिएर थोकमा १५० पुगेको छ । आँटा र मैदाको मूल्य किलोमै ५ रुपैयाँले बढेको संघको विवरणमा देखिन्छ । गत वर्ष ५० रुपैयाँ किलोमा पाइने आँटाको मूल्य ५५ रुपैयाँ भएको छ भने ५५ रुपैयाँ किलोको मैदाको मूल्य ६० रुपैयाँ पुगेको छ । ६० रुपैयाँ किलोको सुजीको मूल्य ४० रुपैयाँले महँगिएर १०० रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।
गत असारमा १५० रुपैयाँ किलोमा पाइने मस्यौराको मूल्य यो असारमा ७५ रुपैयाँले बढेर २२५ रुपैयाँ प्रतिकिलो पुगेको छ । जिरा मसलाको मूल्यमा पनि भारी मूल्यवृद्धि भएको संघको विवरणमा देखिन्छ । २०७८ असारमा ३६२ रुपैयाँ किलोमा पाइने नधुल्याइएको जिराको मूल्य अहिले ५०० रुपैयाँ पुगेको छ । धनियाँको गेडाको प्रतिकिलो मूल्य ५० रुपैयाँले बढेर २०० बाट २५० रुपैयाँ पुगेको छ ।
भान्सामा औषधीय गुण मानिने मेथी र ज्वानोको समेत मूल्य बढेको छ । गत वर्ष १८० रुपैयाँ प्रतिकिलोमा पाइने मेथीको मूल्य यो वर्ष २०० रुपैयाँ पुगेको छ भने ४०० रुपैयाँ किलोमा पाइने ज्वानोको मूल्य ५० रुपैयाँले बढेर ४५० पुगेको छ ।
ठूला खाद्य स्टोरबाट संघले संकलन गरेको यो मूल्य होलसेल बजारको भएकाले खुद्रामा मूल्यवृद्धि झनै बढी हुनसक्ने संघका महासचिव अमुलकाजी तुलाधर अनुमान गर्छन् । कोरोना महामारी, रूस–युक्रेन युद्ध र पेट्रोलियमको मूल्यवृद्धि भन्दै आयातकर्ता र होलसेल व्यापारीले मूल्य बढाएको उनको आरोप रहेको छ ।
‘हामीलाई नयाँ मूल्य आउँछ, नमान्नुको सुखै छैन’ महासचिव तुलाधर भन्छन्, ‘किन बढ्यो भन्दा कारण अन्तर्राष्ट्रिय बजारलाई देखाउँछन् ।’ होलसेलबाट हुने मूल्यवृद्धिका कारण साना व्यापारी भने दोहोरो मारमा परेको उनले बताएको हो । बढेको मूल्यमा होलसेलले साना व्यापाारीलाई बिल नदिने गरेको भन्दै उनले भने, ‘सरकारी अनुगमन र उपभोक्ता दुवैको मारमा हामी परेका छौं ।’
२०७८ असारमा सत्ता परिवर्तन भएसँगै बजार मूल्यमा चलखेल गर्नेका लागि थप मौका मिलेको यस क्षेत्रका जानकारहरू बताउँछन् । अस्थिर सरकारको फाइदा उठाएर उपभोक्तामाथि महँगी थोपरेर लाभ लिने समूहको उद्देश्यलाई सरकारी निकायकै साथ रहेको पुष्टि गर्न बजारका केही तथ्यले बल पुर्याउँछन् ।
व्यवसायी शशिकान्त अग्रवाल र राजकुमार अग्रवाल नेपाली बजारमा चिनी व्यापारका खेलाडी हुन् । भारतबाट सस्तो चिनी आयात गरेर उद्योगमा लुकाउने र त्यही चिनीलाई आफ्नो उद्योगको भन्दै सरकारी अनुदानमा लाभ लिने गरेको आरोप उनीहरूलाई लाग्दै आएको छ ।
आफ्नो गोदाममा टन्न चिनी भरेपछि बजार कार्टेलिङ गर्ने यो समूहको लविङका कारण सरकारले यसपटक चिनी खरिद गरेन । जसका कारण बजारमा चिनीको मूल्य एक वर्षको बीचमा किलोमै २० रुपैयाँले बढेको छ । गत असारमा ९० रुपैयाँ किलोमा पाइने चिनी अहिले ११० रुपैयाँ पुगेको छ । झन् केही समयअघि भारतले चिनी निर्यातमा रोक लगाएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित बनेको हो ।
सरकारी निकायकै मिलेमतोमा मूल्यवृद्धि भएको अर्को क्षेत्र हो दूध । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नयाँ मन्त्रीको रूपमा कार्यभार सम्हाल्ने बित्तिकै दूधको मूल्य बढाउने गृहकार्यमा लागेका कृषि मन्त्री महेन्द्रराय यादव ७ महिनामा सफल भएको हो । उनले गत माघमा व्यापारीको स्वार्थअनुसार दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका हुन ।
किसानले पाउने मूल्य बढाउने नाममा उनले दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्म बढाउन अनुमति दिएका छन् । लगत्तै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाउने निर्णय गर्यो । न्यूनतम ९ देखि १४ रुपैयाँसम्म बढेको मूल्यमा डीडीसीले किसानलाई भने ६ रुपैयाँ ५२ पैसा मात्रै छुट्याएको थियो ।
कृषि मन्त्रालयले स्ट्यान्डर्ड दूधको मात्रै मूल्य बढाउन अनुमति दिए पनि डीडीसी र निजी डेरीले सबै प्रकारको दूधको मूल्य बढाए । जसअनुसार देशैभर अब डीडीसीको स्ट्यान्डर्ड दूधको मूल्य लिटरमा ९ रुपैयाँ, चिया मिल्क १० रुपैयाँ, गाईको दूध १२ रुपैयाँ र फुल क्रिम दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढ्यो । निजी क्षेत्रका डेरीहरूले फागुन एक गतेदेखि लागु हुने गरी स्ट्यान्डर्ड दूधको मूल्य लिटरमा १० रुपैयाँले बढाउने निर्णय गरेका हुन ।

