बागलुङ – बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ ।
गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको बताउनुभयो ।
‘जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाईसमेत राहत दिने नीति थियो’, गुरौले भन्नुभएको छ
सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।
घिमिरेले स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिए पनि बागलुङका केही पालिकालेसमेत मृतकका परिवारलाई राहत रकम दिएको बताउनुभएको छ । पालिकाको राहत विवरण स्वास्थ्य कार्यालयलाई नआउने भएकाले कुन पालिकाले कति राहत दियो भन्ने थाहाँ नभएको घिमिरेले जानकारी दिनुभएको छ ।
जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत दिएको थियो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८-८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेट अनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई रु २० हजारका दरले राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाए । गाउँपालिकामा कोरोना सङ्क्रमणका कारण १८ जनाले ज्यान गुमाएका हुन ।

