सबैलाई पठाउनु होला

 

देश यतिखेर गम्भीर राजनीतिक, सामाजिक र नैतिक संकटको भुमरीमा फसेको छ। अराजकता, अस्थिरता, अनुशासनहीनता र दण्डहीनता दिनप्रतिदिन संस्थागत बन्दै जाँदा विकास होइन, विनाशको बाटो फराकिलो हुँदै गएको स्पष्ट देखिन्छ। चाहे त्यो व्यक्ति राजनीतिको नाममा होस्, समाजसेवीको आवरणमा होस् वा कुनै संघ संस्थाको प्रतिनिधि नै किन नहोस्उ, सको पछाडि लाखौं समर्थक भए पनि अराजक सोच र व्यवहारले देशलाई कहिल्यै अगाडि बढाउन सक्दैन।

आजको मुख्य समस्या विचारविहीन पपुलिजम हो। भावनालाई उत्तेजित पारेर, दम्भ, घमण्ड र ईर्ष्यालाई शक्ति ठानेर राजनीति गरिँदा त्यसले क्षणिक ताली त पाउन सक्छ, तर दीर्घकालीन रूपमा राष्ट्रलाई गहिरो घाउ मात्र दिन्छ। विकास न त दम्भबाट सम्भव छ, न घमण्डबाट। विकास सम्भव हुन्छ स्पष्ट दृष्टि, जिम्मेवार नेतृत्व र अनुशासित राजनीतिक संस्कृतिबाट मात्र।

यतिखेर देशले राजनीतिक संकटको खडेरी भोगिरहेको छ। नीति हराएको छ, नैतिकता कमजोर बनेको छ, र नेतृत्वको प्राथमिकता सत्ता र पदमा सीमित हुँदै गएको छ। यही कारण सिंगो देश अराजकता र अस्थिरताको दलदलमा फस्दै गएको छ। कानुनी शासन कमजोर हुँदै गएको छ, दोषीहरू दण्डहीनताको आडमा खुलेआम हिँडिरहेका छन्, र निर्दोष नागरिकहरू पीडित भइरहेका छन्।

भाद्र २३ र २४ गते देखिएको घटनाक्रमले यो संकटलाई अझै भयावह रूपमा उजागर गरिदिएको छ। सिंगो देश खरानी हुने गरी आगो लगाइयो, ७६ जना युवाहरूको जीवन बलि चढाइयो। युवाहरू, जो राष्ट्रका भविष्य हुन्, उनीहरूलाई हिंसा र अराजकताका लागि प्रयोग गरियो। सीमित व्यक्तिहरूले यसलाई ‘क्रान्ति पूरा भएको’ वा ‘जित हासिल भएको’ भ्रममा लिन सक्छन्, तर यथार्थमा सिंगो देश हारिरहेको छ, आर्थिक रूपमा, सामाजिक रूपमा र नैतिक रूपमा।

सत्ता प्राप्ति, पद प्राप्ति वा राजनीतिक लाभ विनाशको बाटो हुँदै आउँदैन। आगो, तोडफोड, हिंसा र अराजकताबाट प्राप्त भएको सत्ता दीर्घकालीन हुन सक्दैन, न त त्यसले समृद्धिको आधार तयार गर्न सक्छ। समृद्धिको बाटो विकासबाट मात्र खुल्छ, संवादबाट, सहमतिबाट, कानुनी शासनबाट र जनउत्तरदायी राजनीतिबाट।

यतिखेर आम सचेत नागरिक र साँचो राष्ट्रवादीहरूका लागि समय आएको छ, राष्ट्रवादी को हो र राष्ट्रघाती को हो भन्ने चिन्ने। राष्ट्रवादी त्यो हो, जसले देशलाई स्थिरता, शान्ति र विकासको बाटोमा लैजान्छ। राष्ट्रघाती त्यो हो, जसले व्यक्तिगत स्वार्थ, सत्ता र पदका लागि देशलाई अराजकतामा धकेल्छ, युवाको भविष्य अन्धकार बनाउँछ र राष्ट्रिय हितलाई बन्धक बनाउँछ।

अब प्रश्न स्पष्ट छ , हामी विकास चाहन्छौं कि विनाश? यदि समृद्ध नेपाल चाहिन्छ भने अराजकताविरुद्ध दृढ आवाज उठाउनैपर्छ। विचारविहीन पपुलिजमलाई अस्वीकार गर्नैपर्छ। जिम्मेवार राजनीति, अनुशासित आन्दोलन र राष्ट्रहितलाई केन्द्रमा राख्ने नेतृत्वको माग गर्नैपर्छ। किनकि इतिहास साक्षी छ अराजकताले कहिल्यै विकास गरेको छैन, उसले सधैं विनाश मात्र गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com