सबैलाई पठाउनु होला

झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा सामान्य घाइते भएका ६ यात्रु उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन्।

दुर्घटनामा टाउको र अनुहारमा चोट लागेका सहचालक २४ वर्षीय सुशान्त श्रेष्ठको भने अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

काठमाडौंँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाज (कलसाइन ९०१) शुक्रबार राति ८ः२३ बजे उडेको थियो। जहाज भद्रपुर विमानस्थलमा राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेबाट करिब ३०० मिटर पूर्वतर्फ ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

जहाजमा ५१ यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका थिए।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली तत्काल उद्धारका लागि खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सकुशल जहाजबाट बाहिर निकालेर घाइतेलाई भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्‍याएको जनाएको छ।

प्रहरीका अनुसार सहचालक बाहेक अन्य घाइतेहरूको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com